शिक्षक नियुक्ति गर्दा घुस लिने वडाध्यक्ष र प्रधानाध्यापक पक्राउ !


दैलेख । शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा वडाध्यक्ष र प्रधानाध्यापक परेका छन् । दैलेखको पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

परीक्षामा घुस लिएको परीक्षार्थीहरूबाटै खुलेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखले शनिबार सदरमुकाममा सञ्चालन गरेका ४ वटा विद्यालयका शिक्षक छनोटको लिखित परीक्षामध्ये दीप माविमा मावि तहको अंग्रेजी विषयको एक जना राहत शिक्षकको परीक्षामा वडाध्यक्ष आले मगर र प्रधानाध्यापक सिजापतिलाई घुस लिएको आरोप लागेको हो ।

पीपलकोटको मावि राहत शिक्षक पदमा प्रतिस्पर्धी ४ जना मध्ये १ जना उत्तीर्ण भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले दीप माविको परीक्षामा घुस प्रकरणमा मुछिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको तर, इकाई कार्यालयको कुनै संलग्नता नरहेको र सबै परीक्षाहरूमा शिक्षक सेवा आयोगको मापदण्ड पालना गरिएको बताए । 

घुस प्रकरणमा प्रधानाध्यापक सिजापती र वडाध्यक्ष आले मगरसँगै तेश्रो व्यक्तिको समेत संलग्नता देखिएकोले आरोपितको खोजी र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]