एमाले अध्यक्ष टेलिफोनमा प्रधानमन्त्रीसँग कुरा गर्दै, वार्ताविरोधी भएको भ्रम फैलाउन खोजेको आरोप


kp oliनेकपा (एमाले)ले बागलुङ क्षेत्र नं १ मा आगामी चैत्र २८ गते हुने उपनिर्वाचनमा मनकुमारी केसी (जिसी)लाई उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेको स्थायी कमिटी बैठकले केसी (जिसी)लाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । साँझ ६ बजे सम्पन्न बैठकले उपनिर्वाचनमा पार्टीले गर्नुपर्ने आवश्यक कार्यका लागि महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी तोकिएको उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । विपक्षी मोर्चासँगको वार्ताको प्रसङ्गबारेमा बैठकमा छलफल भएको जानकारी दिँदै एमाले वार्ताबाटै समस्या समाधान गर्ने पक्षमा रहेको सचिव ज्ञवालीले बताउनुभयो । वार्ताका लागि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोनमा कुराकानी गरेको बताउँदै उहाँले अध्यक्षको स्वास्थ्यमा सुधार हुँदै गएकाले आगामी वार्तामा अध्यक्ष ओली नै सहभागी हुने बताउनुभयो । एमाले वार्ताबाट पन्छिएको भन्दै विरोधीले भ्रम फैलाएको बताउँदै उहाँले भन्नुभयो, “एमाले वार्ताबाट पन्छिएको भन्दै भ्रम फैलाउने काम भएको छ, एमाले वार्ताबाटै समस्याको समाधान गर्ने पक्षमा छ, आगामी वार्तामा पार्टी अध्यक्ष ओली नै सहभागी हुनुहुनेछ ।” वार्तामा अध्यक्ष ओली सहभागी नभए पार्टीको जो कोही नै सहभागी भएपनि त्यो पार्टीको आधिकारिक हुने बताउँदै उहाँले यसलाई भ्रम फैलाउने माध्यम बनाउन नहुने ज्ञवालीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]