अद्भुत नप कारागार

सहिदलाई सम्झेर स्वप्नशील चित्तमा नयाँ नेपालको सुन्दर कल्पनाको मनोरम चित्र बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा अतीव कौतुकमय एवं मौलिक दृश्य मेरा आँखासामु छम्छम् नाच्न थाल्यो । खिरिलो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र शीशा कलम बोकेर, काँधमा क्यामेरा भिरेर अघि लागेको थियो । ऊ थियो, एक तीक्ष्ण अन्तदृष्टियृक्त र खप्पिस अनुसन्धानकर्मी पर्यटक । उसको पछाडि थियो रैथाने उचाइका दृष्टिले किञ्चित् होचो कदको नेपाली गाइड । आगन्तुकलाई सन्तुष्ट तुल्याउन नित्य यत्न गर्ने बिछट्टको वाक्पटुता र बौद्धिक कर्ममा गाइड पनि कम निपुण थिएन । अंग्रेजी भाषामा ऊ लगभग गोराझैं छुरा थियो । ज्ञानपिपासु पर्यटक नयाँ नेपालको नवीन यथार्थको सूक्ष्मातिसूक्ष्म अवोलकन गर्न आतुर थियो । यता गाइडचाहि ज्ञानपिपासु गोराका नूतन एवं गहन प्रश्नहरुको स्वतःस्फूर्त, सटिक र सन्तुष्टिदायी उत्तर दियाइमा कतै केही कमी पो होला कि भनी विचारमग्न थियो ।

अघिअघि सर्भान्तेजकृत आख्यानको डनक्विक्सोटझैं टिङ्रिङ्ग अग्लो सूचना सिकारी पर्यटक छ, पछिपछि छ उही आख्यानको सान्कोपान्जासरि पुड्को गाइड । जिज्ञासा प्रकट गर्दा परदेशी डनक्विक्सोट गर्धन भाँचेर सान्न्कोपान्जालाई तल हेर्छ, प्रत्युत्तर दिँदा स्वदेशी सान्न्कोपान्जा गर्धन उचालेर डनक्विक्सोटलाई माथि हेर्छ ।
पर्यटक गोरा र गाइड अग्लो न अग्लो गोलाकार पर्खालबीचको वृत्ताकार द्वारबाहिर पुगे । पर्खालबाहिर वरिपरि पन्ध्र–बीस मिटरको दूरीमा मिसिनगनधारी फौजी सतर्क मुद्रामा तैनाथ थिए । प्रवेशद्वारमाथि मनै हर्ने कलात्मक अक्षरमा “नप कारागार” लेखिएको थियो । गोराले आङ्ग्ल भाषामा सोध्यो, “गाइड, यो नप माने के हो ?”
“नप माने नर–पशु हो, सर ।” गाइडले शानले जबाफ फर्मायो ।

“असम्भव !” गोराले विष्मय प्रकट ग-यो ।

“नया“ नेपालमा यो असम्भव सम्भव भयो, सर !” सहज भाकामा गाइडले भन्यो ।

“नर नर हुन्छ, पशु पशु हुन्छ ।’ असहमतिको भावमा गोराले जिरह ग¥यो, ‘इहलोकमा नर र पशुको यो उदेकको मिसावटी कसरी सम्भव छ, गाइड ?”

“यो कुनै ठट्टा कारागार होइन, सर ।” गाइडले राष्ट्रवादी मुद्रामा धक्कु लगायो । “यहाँभित्र नरलोकमा कहिल्यै कतै नभ’का अनौठा जीव छन् । ती दोपाया हुन् । ती बोल्छन् । त्यसैले बाहिरी रुपरचनामा ती नर हुन् । तर सर्वाङ्ग नैतिकच्यूत हुनाको कारण आन्त्रिक सारतत्वमा ती पूरापूर पशुमा पतीत भएका छन् । त्यसैले सर, नपको अर्थ यो रुप र यो सारको अनौठो सङ्गम हो ।”

“अओ, नयाँ नेपाल !” गोरा चकित भयो ।

चकित गोराले प्रवेशद्वारछेउको सानो आँखी झ्यालमा एक सय अमेरिकी डलरका दुईवटा प्रवेश–टिकट काट्यो । अनि ती दुई भाइ भित्र पसे । भित्र प्रथम दृष्टिमै बडो मनोरम दृश्य दृष्टिगोचर भयो । आठ–दस मिटरको दूरीमा सफाचट् बाटाको वारिपारि लहरै जेलको गोलघर टाइपका ससाना दसवटा घर छन् । ती घरका बीचबीचमा बाटाको दुबैतिर ढकमक्क फुलेका छन् नानाओली रङका फूलहरु । भूइँमा जापानी दूबोको जीवनमय हरियाली छ । र, ठाउँ–ठाउँमा छन् अकासमुखी फोहरा भएका कन्चन जलका ससाना कुण्डहरु । चर्मचक्षुले झट्ट हेर्दा लाग्छ, त्यो सुन्दर कल्पनामा रचिएको परीलोकको अति आनन्ददायी दृश्य हो ।

गोरा र गाइडले मेडिकल मास्क, मेडिकलै पन्जा र भाइरस–रक्षक पोशाक पिपिई लगाएका छन् । यी वस्तुहरु धारण गर्नाको गुह्य गोरालाई अहिलेसम्म थाहा छैन । कारागारको कथा सुन्दैजाँदा गुह्य स्वतः खुल्नेछ भनी कुरोभित्रको चुरो संशयमा राखिएको छ ।

सेरोफेरोको दृश्यबाट हुनुसम्म पुलकित हुँदै गोरा पहिलो गोलघरको आ“खीझ्यालमा पुग्यो । भित्र एक वृद्ध नर–पशु भित्तामा अडेस लागेर बसेको थियो । उसको मुख फस्नरजस्तो केही चीजले जाम गरिएको थियो । उसका अगाडि थालमा भात थियो र भातको छेवैमा थियो कलकलाउँदो घाँस ।

“ओ गाइड, यो भात र यो घाँस यहाँ किन एकसाथ ?”

“किनभने, सर, यो वृद्ध जीवात्मा नर र पशु सँगसँगै छन् ।”

“अओ, अनौठो कुरा ! गाइड मित्र, यो नर–पशुसँग यसो केही बात मार्न पाइन्थ्यो कि ?”
“बात मार्न सख्त मनाही छ, सर ।”

“त्यसो किन, गाइड ?”

“यसले बोल्दा यसभित्रका नरभक्षी भाइरसहरु वायुमण्डलमा प्रसार हुन्छन्, सर । त्यसैले गर्दाहुँदी…”
“ती केका भाइरस हुन्, गाइड ?”

“भ्रष्टमतिका, सर ।”

“अओ ! नरपशुभित्र भ्रष्टमतिका भाइरसहरु ? कति चाखलाग्दो !”

गोरा पर्यटकले उमङ्गले फुरुङ्ग पर्दै रेकर्डर र नोटबुक दुबैमा वार्ताको इतिवृत्त व्यहोरा टिप्यो । अनि उसले विभिन्न कोणबाट भ्रष्टमति वृद्धको फोटो खिच्यो । गोलघरछेउको सानो खोरतिर यसो चियाउनु के थियो गोराले भित्र केही अनौठो चीज देख्यो । “गाइड, खोरमा त्यो के हो ?” उसले खुल्दुली पोख्यो ।

“त्यो हुँडार हो, सर ।”

“अओ ! नर–पशु समीपमा गन्दे हुँडार ! त्यो त्यहाँ किन छ गाइड ?”

“निकटवर्ती नर–पशुलाई एक्लोपनको निसास नहोस् भनेर, सर ।”

“त्यो कसरी, गाइड ?”

“स्वभाव र चरित्रमा यी दुई विल्कुल समान छन्, सर । तसर्थ जस्तो नर–पशु, गोलघरमा उसलाई उस्तै साथी ।”

“अओ ! उस्तैउस्तैको यो क्या खतरा जोडा !”

पर्यटक गोरो र गाइड दोस्रो गोलघरबाहिर पुगे । भित्र एक अध्बै“से नर–पशु चितुवा कराएझैं घुर्दै लमतन्न सुतेको थियो । दृश्यमा उही अघिल्लो गोलघरको हुबहु कार्बनकपी दृष्टिगोचर भयो । थालमा भात, भातको छेवैमा घाँस, बाहिर नजिकै हुँडार । दुई गोलघरका भित्ताको साझा दृश्यले प्राज्ञ पर्यटकको मनमा दुर्दम जिज्ञासा जगायो । दुवै भित्तामा एउटा अजीवको आकृति अङ्कित थियो । मोसो पोतिएको विकृत अनुहारधारी त्यो जीवको आकृतिका शिरमा श्रीपेच थियो ।

“गाइड, भित्ताको त्यो अनुहारविनाको अनुहार कसको हो ?”

“यो भूपू राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवको हो, सर ।”

“अहो ! भूपू महाराजको अनुहार किन मोसोभित्र भूमिगत भएको हो ?”

“मानवीय दृष्टिले लोकलाई देखाउन नमिल्ने भएर, सर ।”

“अओ ! अघिल्लो गोलघरमा पनि…”

“हो, सर, यी सबै नर–पशुगृहका भित्तामा उही तस्बीर टाँगिएको छ ।”

“कारण ?”

“कारण के हो भने, सर, अनुहारविहीन यो अनुहार यी सबै नर–पशुको प्रेरक, मार्गदर्शक एवं संरक्षक हो ।”
“त्यो केमा नि, गाइड ?”’

“अनेकथरी भ्रष्टाचार गर्नमा, सर ।”

“अओ ! मैले बुझें ।”

“थ्याङ्क्यु, सर ।”

अल्पविश्रामपछि वार्ताले पुनः गति लियो ।

“गाइड, श्रीपेचधारी यी जीव जीवितै छन् ?”

“छन्, सर ।”

“हँ ! कहा“ छन् यी एक्स मोनार्क ?”

“यी साउदी अरेबियामा शरण पर्न गा’छन् भन्ने घोइरो–घोइरो चर्चा छ, सर ।”

“अओ ! एक्स नेपाली मोनार्क साउदी अरेबियामा ? जस्तो घरपति उस्तै शरणार्थी ! गजप !” गोरो पर्यटक मुसुमुस हा“स्यो ।

सेरोफेरोको परिवेशमा व्याप्त अग्घोरै वाकवाकी लाग्ने कुहिगन्धले गाँजेर गोरो अताल्लियो । गन्ध त त्यहाँ अग्घिनै देखि छँदैथियो तर नर–पशु कारागारप्रतिको असीम चाख र दुर्दान्त जिज्ञासाले गर्दा उसले त्यसको उतिबिधि चेत पाएको थिएन । अहिले भने राम्रैसँग चेत पायो ।

“अओ ! क्या गन्ध ! यो बर्बादी के हो, गाइड ?” गोराले नाक अँठ्याएर आतङ्कित हुँदै ओठ चलायो । उसका विचलित आँखा हुँडारमा गएर एकाग्र भए ।

“गाइड, भ्रष्टका मित्र यी गन्दे हुँडार वास्तवमा केका प्रतीक हुन् ?”

”लुब्धता, दुष्टता र क्रूरताका प्रतीक, सर ।”

”अओ ! सोको प्रमाण ?”

“सर, हुँडारले जसरी सुम्सुम्याउँदै हात भित्र घुसारेर सुधो शिकारको ज्यान लिन्छ, यी नर–पशुहरुले त्यसरी नै भ्रष्टाचार गरेका थिए ।”

“अओ, कस्तो कुरा !”

“त्यै त, सर ।”

गोरा तेस्रो गोलघरको आँखीझ्यालबाट भित्र नियाल्न थाल्यो । गोलघरवासी नर–पशु सानो दूलोबाट छिमेकी मित्र हु“डारलाई हेरिरहेको थियो । उता हुँडारका आँखा पनि नर–पशुमाथि स्थिर भएका थिए, मानौं ती दुईमाझ प्रगाढ मैत्रीभाव छ ।

सबै गोलघरको अवलोकन गरिसकेर गोरा र गाइड रुखमुनिको शीतल काठे चौतारीमा बसे । अब लाग्यो गाइडसामु जिज्ञासु गोराका बाँकी प्रश्नहरुको लामेताँती ।’

“गाइड, यो नर–पशु कारागारमा जो जो छन्, यी को हुन् ?”

“यी राजनीति र कूटनीति, सेना र प्रहरी, निजामति सेवा र न्यायपालिकाका उच्चतम् भ्रष्टहरु हुन्, सर ।”

“गाइड, यी सबै शाही निर्दलीय व्यवस्थाका उपज होलान्, कि कसो ?”

“नाइँ सर, यिनमा बहुदलीय व्यवस्थाका उपज पनि कम छैनन् ।”

“अओ ! हुँडारको छेउमा मल्टी पार्टी डेमोक्र्यासीका भ्रष्टहरु पनि ?”

“ज्यू, ज्यू, सर ।”

“गाइड, यिनमा शिक्षा र स्वास्थ्य क्षेत्रका सेवकहरु त निश्चय नै नहोलान्, हैन ?”

“ती पनि छन्, सर ।”

“अओ, शिक्षा र स्वास्थ्यका भ्रष्ट पनि ? पत्याउनै नसकिने कुरा ! ”

“राज्यका सबै अङ्गलाई भ्रष्टाचारको संक्रामक रोगले आक्रान्त तुल्याउँदा शिक्षा र स्वास्थ्य क्षेत्रमात्रै कसरी पो अछूत रहुन् र, सर ?”

“अओ ! अन्बिलिभेवल !”

“कुरो साँचो हो, सर ।”

अलिबेर घोत्लिएर गोराले अलि पृथक् बान्कीको प्रश्न सोध्यो, “गाइड, विचारको रङ्का दृष्टिले नि ?”

“सर, यहा“ पीत, नील र लाल सबै रङ्का भ्रष्ट छन् ।”

“अओ ! लाल भ्रष्ट धेरै नराम्रो !”

पर्यटक गोराको उपहासजनक उद्गार गाइडका चित्तमा चसक्क बिझायो । कारण ऊ अलिअलि लाल झुकाबवाले पठ्ठो थियो । उसले विनयशील लबजमा किञ्चित् आक्रामक प्रत्युत्तर प्रश्न सोध्यो, “नील र पीत भ्रष्टचाहि कम नराम्रा हुन् त, सर ?”

“तथापि…उम्, आ, अओ !” गोराले कुरो चपायो ।

पर्यटक गोराले पलभर गम खायो । अनि प्रश्नको पन्तुरो पुनः फुकायो ।

“गाइड, नर–पशु कारागारमा यी दशजनामात्र किन ?”

“भ्रष्टहरुको विशाल बगालका यी टप टेन हुन्, सर । कसैगरी सच्चिन नसक्ने टप टेन ।”

“अओ, अओ ! इनकरिजिबल टप टेन ! गाइड, यो नर–पशु कारागारका सुन्न लायकका अरु केही विशेषता छन् कि ?”

“यो नयाँ नेपालको मूल आयश्रोत हो, सर ।”

“हो र, गाइड ?”

“हो, सर ।”

“उसोभए बन्धु, भ्रष्टहरुको यो पुस्ताको शेखपछि मुलुकको आयश्रोतको निरन्तरता कसरी होला त ? नयाँ नेपालमा भ्रष्टहरुको अर्को पुस्ता हुर्काइदै छ कि कसो ?”

गाइड अलमल्ल प-यो । भ्रष्ट कतै एकलासमा उब्जिने दुष्ट होइन । ऊ जन्मिने र हुर्किने थलो राज्य र समाज हो, जहाँ नयाँ नेपालमा कागजमै मात्र भए पनि भ्रष्ट उन्मूलन अभियान गतिमान् थियो । यी टप–टेन भ्रष्टहरुको भौतिक अवसानपछि राज्यको मूल आयश्रोत के हुने हो त ? यो अनुत्तरित प्रश्नले गाइडलाई रन्थन्यायो ।
“माफ पाऊँ सर, यो प्रश्नचाहिँ मेरो जानकारी बाहिरको प-यो ।”

“उसोभए वैकल्पिक आयश्रोतबारे नयाँ नेपालका शिल्पीहरुले केही सोचेका छैनन्, हैन्त गाइड ?”

“हाम्रो चिन्तन परम्परा अलि फरक छ, सर ।”

“मत्लब ?”

“हाम्रोमा एक बाली भित्र्याएपछि त्यो खाई नसकुन्जेल अर्को बालीको चिन्ता गरिँदैन, सर ।”

“अओ ! ह्वाट् अ लम्पेन थिङ्किङ !”

“चिन्तनमा यो नेपालको आफ्नै मौलिकता हो, सर ।”

“उसोभए भ्रष्टहरुको यो लाभदायक पुस्ता मरेपछि नयाँ नेपाल भोकले मर्नेछ, कि कसो गाइड ?”

वाचाल र निपुण गाइड निरुत्तर भयो । पर्यटक गोराले जिज्ञासाको दिशा परिवर्तन गर्दै सोध्यो, “गाइड, यी भ्रष्टहरु आफ्ना आफन्तहरुसँग मनका कुरा कसरी आदान–प्रदान गर्छन् ?”

“केवल इसाराले, सर ।”

“यिनलाई एसएमएस गर्न छूट छैन ?”

“छैन, सर । शब्दको साँघु तरेर भाइरसहरु बाहिर बस्तीमा पुग्लान् भन्ने डर छ ।”

“अओ ! विचित्रको संसार !”

गोराले भ्रष्ट टप टेनका नाम जान्न मन ग-यो । गाइडले तिनका आफन्तहरुका नाक नकाटिऊन् भनेर नामको सट्टा ‘भ्रष्ट नम्बर’को चलन चलाइएको जानकारी गरायो । कीर्तिमानी भ्रष्टहरुका नाम टिप्न नपाउँदा बरा गोरो पर्यटक खिस्रिक्क प-यो ।

“गाइड,” गोराले अन्तिम जिज्ञासा प्रकट ग-यो, “यीमध्ये सर्वोच्च भ्रष्ट कुन हो ?”

“पहिलो गोलघरको भ्रष्ट नम्बर एक हो, सर ।”

“ऊ कताको को हो, गाइड ?”

“ऊ भूपू सैनिक जर्नेल हो, सर । अन्तिम श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको नजिकको नातेदार ।”

“अओ ! हिज मजेस्टी ज्ञानेन्द्रका नजिकको…!” अहिले भने गोरा दङ्ग प-यो । अनि भ्रष्ट नम्बर एकलाई एउटा प्रश्न सोध्न गाइडछेउ उसले अनुमति माग्यो ।

“प्रश्न सोध्न सख्त मनाही छ, सर । कारण मैले अघि नै बताइसकें ।” कर्तव्यपरायण गाइडले नम्र निवेदन ग-यो । गोराले तैपनि जिद्दी गर्न छाडेन, “जो लाग्ने दस्तुर दाखिला गर्न म तयार छु । गाइड, मेरो एकमात्र इच्छाबारे सम्बन्धित अधिकारीछेउ निवेदन गरिपाऊ“ ।”

गाइडले जेबीफोनबाट ‘माथि’ फाँटवाल अधिकारीछेउ निवेदन ग-यो । अनेक अनुनय–विनयपछि एक हजार अमेरिकी डलर दस्तुर बुझाउने शर्तमा माथिको आदेश प्राप्त भयो । बोलीबाट बस्तीतिर नैतिक प्रदूषणका भाइरसहरु प्रसार हुन नपाऊन् भन्ने हेतुले भ्रष्ट नम्बर एकको गोलघरवरिपरि विषाक्त ग्यास छरियो । ग्यासबाट जोगिन गोरा र गाइडले आ–आफ्ना नाकका सुरक्षादायी नकौरा कसे । अनि पूर्व सैनिक जर्नेल एवम् गद्दीच्यूत नरेश श्री ५ ज्ञानेन्द्रका निकट नातेदार भ्रष्ट नम्बर एकलाई गोरालो सोध्यो, “ओ गुर्खा, जीवनमा तिम्रो अन्तिम इच्छा के छ ?”

भ्रष्टले मानौ“ चेलाले कण्ठ गरेको उत्तर गुरुलाई बुझाएझैं हत्तपत्त भन्यो, “सर, म अर्को जुनीमा पनि भ्रष्ट हुन पाऊँ ।”

गोरा खित्का छाडेर हाँस्यो, “अओ ! रोयल भ्रष्ट के साह्रो प्रतिबद्ध !”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?