उहाँहरुको जंगली महत्वकांक्षालाई मैले पूरा गर्न सकिनँः प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कार्यन्वयनका लागि प्रतिनीधि सभा विघटन गरेको बताएका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा आज (शुक्रबार) प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्ड–माधव पक्ष गणतन्त्र र लोकतन्त्रका विरुद्ध लागेको आरोप लगाउँदै आफै पार्टी फुट्यो भनेर हिँडेको पनि बताए ।
उनले अहिले बहुमत र अल्पमतको कुनै अर्थ छैन’, उनले भने, ‘यसको फैसला निर्वाचनपछि हुन्छ ।’ उनले पार्टी बैठक छाडेर सडकबाट घोषणा गरिएको बहुमतको कुनै अर्थ नहुने बताए । उनले प्रचण्डको जंगली शैलीका कारण पार्टीमा समस्या भएको बताए । उनले भने मैले साथिहरुको जंगली महत्वकांक्षालाई पुरा गर्न सकिनँ ।
उनले आफ्नो पार्टी वैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी वैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौँ । हामी वैधानिक नै छौँ भने किन दरखास्त हाल्न जान्छौँ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौँ ? अदालत, निर्वाचन आयोग ?’
उनले प्रचण्ड–माधव पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको पनि बताए । ‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ । कम्युनिस्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्,’ओलीले आग्रह गरे ।
उनले राष्ट्रपतिको विरोध गरेर राजा फर्काउने योजनामा लागेको समेत आरोप लगाए । उनले संविधान र प्रणाली जोगाउन आफूले संसद विघटनको कदम चालेको प्रस्टीकरण दिए । प्रधानमन्त्री ओलीले यस्ता झड्काहरुले कम्युनिस्ट आन्दोलनलाई थप प्रभावकारी बनाउने र संगठित र गतिशिल पार्टी बनाउने अवस्था आएको बताए । ओलीले अविश्वास अस्तव्यस्तताका लागि राखेको भन्दै त्यो कुनै नैतिकता नभएको बताए । आफूले त्यति हुँदा पनि सहेर नेताहरुलाई पार्टीबाट निस्कासन नगरेको बताए ।