हामी अन्तिमसम्म लड्छौं, तर ओलीलाई छोड्नेवाला छैनौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने केपी ओलीलाई त्यसै नछाड्ने बताएका छन् । मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’
मंगलबार काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘यस भेलाले अब संसद विघटनविरुद्ध आन्दोलन जारी रहन्छ । अब संसद विघटन गर्ने केपी ओलीलाई छाड्नेबाला छैन । अब भोलिदेखि नै तयारी गरे हुन्छ उनले भने ।’
उनले अब हामी लोकतन्त्र र जनताको बीचमा आएकाले प्रतगमनकारी ओलीसँग लडाइँ जितेको दाबी गरे । उनले भने, ‘ओली प्रतिगामी भएपछि हामी जनताको बीचमा छौँ । त्यसकारण हामीले हाम्रो लडाइ जितेका छौँ । हामीले जनताको आम भावना र चाहनालाई सम्मान गर्दै अब लडाइँ जारी रहन्छ । हामी छाड्नेबाला छैन ।’
उनले प्रधानमन्त्रीको गलत कदम सच्याउने जनताले नै भएको बताए। अदालतप्रति आफूहरुको आशा रहे पनि अन्तिम भरोसा भनेको जनता नै भएको बताए ।