जब कपडा ठेकेदारले प्रहरी संगठनलाई नै ठगी गरेपछि..!

काठमाडौँ । दुई जना कपडा ठेकेदारले प्रहरीलाई नै ठगी गरेका छन् । प्रहरी कर्मचारीले लगाउने पोषाक (ड्रेस) अन्तर्गत उलनको पाइन्टका लागि २० हजार मिटर खरिदमा ठगी गर्ने २ जना ठेकेदारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–५ घर भएका क्राउन टेक्सटाइल इन्डस्ट्रिज प्रालिका सञ्चालक ५५ वर्षीय पिताम्बर कुमार शर्मा र चितवनको अयोध्यापुरी घर भइ काठमाडौंको घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल छन् ।
सीआईबीका अनुसार प्रहरी कर्मचारीलाई आवश्यक पर्ने उलन पाइन्टका लागि २० हजार मिटर कपडा खरिदका लागि आर्थिक वर्ष २०७४–०७५ मा बोलपत्र आह्वान भएको थियो ।
क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालि वीरगन्जले प्रतिमिटर १०८२ रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक)मा आपूर्ति गर्ने गरी बोलपत्र कबोल गरेको थियो । क्राउन टेक्सटाइल्ससँग २० हजार मिटर कपडा खरिदका लागि २ करोड १६ लाख ४० हजार रुपैयाँमा ठेक्का भएको थियो । र, कम्पनीले ठेक्का सम्झौतामा उल्लेख भएको गुणस्तर अनुसार नै कपडा पनि ल्याएको थियो ।
आपूर्ति गरिएको कपडाको गुणस्तर परीक्षण गर्न प्रहरी प्रधान कार्यालयले क्राउन टेक्सटाइलका प्रतिनिधि नरेन्द्रनाथ पौडेललाई रोहबरमा राखी नमूना संकलन गरेर ३० साउन २०७७ मा एसजीएस चेन्नई इन्डिया प्रालिलाई पठाइएको थियो ।
तर, क्राउन टेक्सटाइलका प्रतिनिधि पौडेलले साउन ३२ गते नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डीएचएलमार्फत एसजीएस चेन्नईलाई दोस्रो नमूना पठाएका थिए ।
कमजोर गुणस्तर भएको सामान आपूर्ति गरेको विषयलाई लुकाउनका लागि क्राउन टेक्सटाइल्सका प्रतिनिधि र सञ्चालकले दोस्रो नमूना पठाएको थाहा पाइएपछि सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।
‘प्रहरी हेड्क्वार्टरलाई झुक्याएर ठग्ने उद्योग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ केन्द्रीय अनुसन्धान व्यूरो भन्छ, ‘ठगी उद्योग गरेको मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी प्रधान कार्यालयबाट पठाएको नमूना परीक्षण रिपोर्ट ढिला आएको तर, मुन्काका प्रतिनिधिले पछि पठाएको नमुना परीक्षण रिपोर्ट चाँडो आएपछि क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज माथि शंका उब्जियो ।
ल्याबसँग उनको मिलेमतो रहेको प्रहरीको दावी छ । नमूनाका लागी खरिद गरेको कपडाबापत प्रहरीले मुन्कालाई भारतीय रुपैयाँ १० हजार भुक्तानी दिएको छ । ठगी उद्योग गरेको प्रमाणित भएमा मुन्कालाई साढे २ वर्ष कैद सजाय र जरिवाना हुने कानूनी व्यवस्था छ ।