दुई प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ !


काठमाडौँ । डेढ महिनाअघि गस्तीमा गएका प्रहरीको हत्या गर्ने मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर धनगढी उपमहानगरपालिका–१० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो ।

उनलाई धनगढी उप महानगरपालिका–१९ फूलबारीको नेपाल भारत सीमा नजिकबाट पक्राउ गरीएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपशमसेर जवराले जानकारी दिए ।

गएको १ कात्तिकमा नियमित गस्तीमा खटिएका बेला धनगढी उपमहानगरपालिका–१२ मा रहेको अस्थायी प्रहरी पोष्ट जुगेडाका दुई प्रहरीको हत्या भएको थियो ।

प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बहादुर विक र प्रहरी जवान रामबहादुर साउदको तस्करहरूले हत्या गरेका थिए । हत्याका मुख्य योजनाकार राना नै रहेको प्रहरीले जनाएको छ ।

असई विकको शव २ कात्तिकमा नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए। त्यसको दुई दिनपछि ४ कात्तिकमा जवान साउदको शव पनि मोहना नदीमै फेला परेको थियो । हत्या आरोपमा यसअघि प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]