छाडेर जानेको घर हुँदैनः नेता सुरेन्द्र पाण्डे !

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका नेता सुरेन्द्र पाण्डेले पार्टी र चुनाव चिह्नमाथि दाबी गर्ने नैतिक आधार नभएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले आफ्नो समूहमा बहुमत केन्द्रीय सदस्य रहेको आधारमा आधिकारिक रुपमा पार्टी आफ्नो भएको दाबी गरेका हुन् ।
घर छाडेर जानेको घर होइन उसले अर्को घर बनाउने हो’, पाण्डेले भने, ‘ओलीजी घर सर्न खोज्नुभयो उहाँले अर्को बनाउने हो। यो घर र चुनाव चिह्नमा उहाँको दाबा रहदैन।’ विगतका राजनीतिक नजिरले बहुमत केन्द्रीय सदस्य हुने नै आधिकारीक पार्टी भएको उनले सुनाए । पाण्डेले नेकपा र चुनाव चिह्न सूर्य आफूहरुको भएको दाबी गरे।
२०५० जनमोर्चा विभाजन, २०५४ को एमाले, २०५८ मा कांग्रेस, त्यसपछिको भएको नेकपा माओवादी सहितका मधेशवादी दल विभाजन हुँदा पनि बहुमतपक्षको पार्टी आधिकारिक भएको नजिर स्थापित भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको सिद्धान्तको नारा झिकेर पूर्व एमालेमाथि भ्रममा पार्न खोजेको भन्दै यसमा नलाग्न उनले आग्रह गरे । एकता नहुँदा चुनावमा पराजित भएर प्रतिपक्षमा बस्नुपर्ने डरले पार्टीभित्र छलफल नगरी पार्टी एकताको निर्णय गरेको खुलासा समेत उनले गरे ।