नेपालको आजको खबर

प्रेममा जब धेरै नखरा हुन्छ, बुझ्नुपर्छ— यो नक्कली प्रेम हो । ढोङको गाढा जलप लगाएको नक्कली प्रेम वास्तवमा क्षणभङ्गुर पानीको फोकोजस्तै हो । पानीको यो फोको म के के न हु झैं गरी हुत्त उठ्छ, छिपछिपे जलप्रवाहमा खुर्र बग्छ र तत्क्षण प्याट्ट फुट्छ । बस्, किस्सा खत्तम ! यौनजन्य जीवनको होस् वा राजनीतिको, नखरे प्रेमको नियति पनि अन्ततः यस्तै हो ।

कुरा २०७४ सालको भ्यालेन्टाइन डे अर्थात् पश्चिमा संस्कृतिमा प्रचलित प्रेम दिवसको हो । त्यो दिन खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालले फ-याकफुरुक र मस्याकमुसुक गर्दै रातो गुलाफ साटासाट गरेर राजनीतिक प्रेमालाप सुरु गरेका थिए । देखिजान्ने लोकका लागि त्यो सपनामा पनि नचिताएको दृश्य थियो— एकदमै असम्भव ! हिजोसम्म ओली र दाहाल राजनीतिमा जीवन–मरणका शत्रु थिए । तिनको आपसी द्वन्द्व ‘अस्तित्वमा कि तँ छैनस् कि म छैन’ भनेजस्तो थियो । एकअर्काको निन्दामा तिनले शब्दकोशका निन्दासूचक सबै शब्द निखारिसककेका थिए । तैपनि यिनको निन्दाको धीत अझै मरेको थिएन । तर बरा यी कीर्तिमानी निन्दकलाई आनन्ददायी निन्दालाई निरन्तरता दिन शब्दको चरम् दुःख थियो ।

ओली र दाहाल परे राजनीतिक जायजन्मका दृष्टिले दुवै लाल कम्निस्ट पथगामी । ओलीको राजनीति खुकुरीमार्गी झापाली विद्रोहको आवेगी झिल्कोबाट सुरु भएथ्यो, दाहालको राजनीति मोहनविक्रम सिंह नेतृत्वको सुस्त चौथो महाधिवेशनबाट । ओलीको कुल राजनीतिक पुँजी चौध वर्षको कारावास थियो, दाहालको कुल राजनीतिक पुँजी थियो जनयुद्धको आँधीबेहरीबाट निर्मित विराट् व्यक्तित्व । एमालेको नौ महिने शासनपछि ओली जनअधिकारको मोर्चामा कहिल्यै खडा भएनन् । न विचारले, न जिब्राले, न पाइतालाले । दाहालले जनयुद्धको रक्तरञ्जित आँधीबेहरीद्वारा परिवर्तनका नानाओली मुद्दाहरु उठाए । तीमध्ये गाँठ्ठी मुद्दा थिए— गणतन्त्र र धर्मनिरपेक्षता । त्यसो त संघीयता र समावेशिताका मुद्दाको जग निर्माण गरेको पनि दाहाल नेतृत्वको हिंस्रक आँधीबेहरीले नै हो ।

दाहाल जब विशाल दलबलसाथ सशस्त्र अभियानबाट निःशस्त्र राजनीतिमा आए, सत्तामुखी प्रतिस्पर्धाको मैदानमा ओली र दाहालको झ्याप्प जम्काभेट भयो । यो जम्काभेट वास्तवमा एउटै चरिचरनमा भेट भएका दुईवटा साँढेको जस्तो थियो । बल, हुङ्कार र तेजमा दाहाल जण्ड बहर गोरुजस्ता थिए, ओली थिए थकित मुद्रामा आफ्नै अतीतको न्यास्रो मानिरहेको बूढो गोरुजस्ता । जब राष्ट्रिय चुनाव आयो, दाहाल र ओलीको शक्तिको परीक्षा सुरु भयो । दाहालसँग प्रगतिशील परिवर्तनका यथेष्ट एजेन्डाहरु थिए, आफूतिर उर्लिरहेका अनेक चरित्रका जनको उत्पाती भीड थियो, तगडा बाहुबली गुण्डाहरु थिए । ओलीसँग शासनको आसनमा बसेर आर्जित कलङ्कका टीकाहरु थिए, उमङ्गविहीन सुस्त कार्यकर्ताहरु थिए, र लोकले गरिरहेको कुरिकरीका उपहासजन्य कटाक्षहरु थिए । चुनावको नतिजामा दाहालको माओवादी दल हात्ती आकारमा प्रकट भयो, ओलीको एमाले दल मुसो आकारमा पतीत भयो । आफ्नो विराट् विजयद्वारा मैमत्त दाहालले ओलीलाई मर्माहत हुने गरी गिज्याए । दाहालसँग प्रत्युतर प्रतिवाद गर्न ओलीसँग वैचारिक आदर्श वा मूल्यजन्य अस्त्र केही थिएनन् । उनीसँग थिए त केवल झीरझैं तीक्ष्ण, तीव्र र विलक्षण उखान–टुक्काहरु । ओली फगत उखानटुक्काकै भरमा दाहालसँग यसरी भिडे, त्यसबाट लोकलाई मनोरञ्जन प्राप्त भयो, एमाले कार्यकर्तागणलाई साहस र ढाडस मिल्यो । माथि नै भनियो, अपसी भनाभन र हानाहानमा दाहाल र ओलीले निन्दासूचक संज्ञाहरु यसरी फजुल खर्च गरे, शब्दकोशका सबै निन्दासूचक शब्दहरु मिलिक्कै सकिए ।

जब अर्को चुनाव अयो, राजनीतिक परिस्थितिले पल्टा खायो । ओलीको एमालेको आकार हात्तीउन्मुख भयो, दाहालको माओवादी मरिचउन्मुख भयो । अब गिज्याउने पालो आयो ओलीको, मर्माहत हुने पालो आयो दाहालको । यस्तैमा अनायास सपनामाको सपनामा पनि कल्पना नगरिएको कुरा घटित भयो । गुलाफ साटासाट गरी दुई जीवन–मरणका शत्रुको नखरे मायापिर्ती सुरु भयो । त्यो चर्तिकला देखेर जगत् चकित भयो— गाँठ्ठे ! गोर्खे राजनीतिमा के हो यो गाईजात्रा ? यो नखरे मिलनमा एउटै मैदानका यी दुई साँढेका भित्री दाउ के के हुनन् ?
लोकलाई विचित्रको प्रणय–बन्धनमा गाँसिएका दुई साँढेले केही मिठा कुरा सुनाए । एक, सरकार अस्थिर हुँदा विकासले गति लिन पाएन, भ्रष्टाचार मौलायो । तसर्थ स्थिर सरकार, भ्रष्टाचार उन्मूलन र गतिमान् विकासका लागि हो यो प्रेमिल एकता ! दुई, व्यवस्था पुँजीवादी हुँदा कामचोर ठगठालुहरु सधैँ मोटाए, गरिखाने भुइँमान्छेले सधैँ दुःख पाए । तसर्थ ठगमार्गी पुँजीवादलाई खुम्च्याउँदै जनसेवी समाजवादतिर जान हो यो भव्य एकता ! तीन, अब गरिने सिर्जना समृद्धिको हो, जनजनलाई गरिने वितरण सुखको हो । बस्, यी थिए साँढेद्वयका मुखले भन्ने मिठा कुरा । तर यी दुई साँढे एक हुनुमा यिनका अप्रकट दाउ अर्कै थिए । यिनका अप्रकट दाउहरुबारे ठोकेर केही भन्न सकिन्न, खालि केही अडकल काट्न मात्र सकिन्छ । दाहालको दल खुम्चिँदै सीपी मैनालीपथ उन्मुख थियो, तसर्थ आफ्नो लोपोन्मुख अस्तित्वको रक्षा गर्न भयातुर दाहाललाई आश्रयस्थल चाहिएको थियो । ओलीलाई सर्वशक्तिमान् प्रधानमन्त्री बनेर जगत्लाई आफ्नो शान, पौरख र गौरव देखाइदिनु थियो । दाहालका चित्तको भित्री पत्रमा सायद एउटा भन्न नमिल्ने कुटिल दाउ दियो— म्यादी मिर्गाैलाको भरमा बाँचेका ओलीको जिन्दगी कति नै होला र ? यिनको आसन्न शेषपछि पार्टीसत्ताको उच्च गद्दाको सर्वाधिकार कतै नजा ! उता ओलीलाई शरणार्थी दाहाललाई बिरालाले मुसोझैं खेलाएर हिजोको अपमानको पूरापूर साटो फेर्नु थियो । जे होस्, आ–आप्mनो दलका सकल जनलाई निरीह, निस्तेज र सत्वहीन तमासेका रुपमा बाहिर राखेर रहस्यमय खोपीवार्ता गरी दुई साँढेको ‘ऐतिहासिक एकता’ सम्पन्न भयो ।

आश्चर्यको कुरा, दाहालले आफ्नो सिरिखुरी सम्पत्ति लगेर आफ्ना जघन्य शत्रु ओलीका चरणमा अर्पण गरिदिए । उनले आफ्नो छँदाखाँदाको दल अर्पण गरे, आफूद्वारा सिर्जित परिवर्तनका मुद्दा अर्पण गरे, आफ्नो इतिहासको गौरव अर्पण गरे, आफ्नो व्यक्तित्वको आभा अर्पण गरे । र, यसरी हिजो क्रान्तिको झण्डा उठाएका दाहाल प्रतिक्रान्तिका नायक ओलीका स्वामिभक्त खलनायकमा भर्ती भए । अनि भयो के ? शत्रुलाई सर्वस्व अर्पण गरेर दाहाल उनै शत्रुका निरीह भिखारी बने । भिख माग्दै उनी अढाइ वर्ष ओलीको दरबारको द्वारमा रातोदिन धाइरहे । उनको लज्जास्पद याचना प्रधानमन्त्री वा अध्यक्ष एक पद थियो । दिउँला–दिउँला भन्दै ओलीले उनलाई सधैँ ‘माछोमाछो— भ्यागुत्तो’ गरिदिए । ओलीले दाहालको असीमित अपमान गरे, दाहाल असीमित अपमान पाएर पनि अघाएनन् । प्रभुका चरण स्पर्श गर्दै लिच्चड मुद्रामा याचना गर्न प्रभुको दरबारमा उनी धाइरहे, नित्य धाइरहे ।
कथित लालतन्त्रमा सदाचार झनै विस्मृत भयो, भ्रष्टाचार ह्वात्तै मौलायो । समाजवादको जाली वाचा हावा भयो, भतुवा पुँजीवाद झनै फस्टायो । बहिष्करण र वञ्चना, विभेद र अन्याय, भोक र गरिबी, अपमान र आँसु, बेरोजगारी र रोदन, भाउवृद्धि र अराजकता, नातावाद र कृपावाद, एवं भय र असुरक्षामा दुई साँढेको लालतन्त्रले गर्नुविधि कीर्तिमान कायम ग-यो ।

अनि के भयो ? दाहाललाई भिजेको मुसो बनाएर हिलामा दल्दादल्दा अहंकार उन्मत्त भई ओली भदौरे अर्नाको औतार धारण गर्दै गए । ओलीले राज्यका निर्णयकारी शक्ति, संस्था र श्रोतमाथि पूर्ण एकाधिकार कायम गरे । अनि ओली सत्ताशक्तिमाथिको एकल आधिपत्य, मुद्रा, वचन एवं आचरण हर दृष्टिले नवोदित राजा भए । कसैलाई नगन्ने, सबैलाई ओठे जबाफले दुत्कार्ने । नीलो आकासमुनिका सबै कुरा आफैं जान्ने, कसैका कुरा नसुन्ने । सेरोफेरोको समस्त परिवेशमा निहिच स्वार्थ, अहंकार, असहिष्णुता र प्रतिशोधको विष वमन गर्दै हिँड्ने । ओलीको चाकरी गरेर दाहाल त सायद थाकेका थिएनन्, तर चाकरी स्वयम् थाक्यो । ओलीको अपमानले सायद दाहालको धीत अझै मरेको थिएन, तर अपमान स्वयम् आजीत भयो । तसर्थ, सत्ताको फल झरे बाँडीचुँडी खाउँला भनी माधव गुटसँग गलो मिलाएर दाहालले ओली प्रवृत्तिको हल्का प्रतिवाद सुरु गरे । नतिजा के भयो ? मैमत्त एवं क्रुद्ध ओलीले आफैं बनाएको संविधानमाथि छुरी धस्दै प्रतिनिधिसभाको बध गरे ।

अब के हुन्छ ? ओलीका भष्मासुरे हातबाट संस्था, विधि, नीति, मर्यादा र सदाचारलाई ध्वस्त पार्ने महाअभियान सुरु भयो । अनपेक्षित आश्चर्य यो किमार्थ होइन । अन्तर्यमा ओली जे हुन्, आफ्ना कृत्यद्वारा तिनले आफ्नो धर्म थामिरहेकै छन् । ओलीसँग जाग्रत लोकको न कुनै सुन्दर र सुखदको अपेक्षा छ, न त तिनका कृत्यप्रति कुनै आश्चर्यको भाव नै छ । ओली अहिले जे भए, उनको यो औतारको भ्रूण त उनी स्वयंमा अन्तर्निहत थियो । यो भ्रूणलाई मलजल गरी यो भष्मासुर मुद्राको तहमा उकास्नमा दाहालको विशाल योगदान छ । अब के हुन्छ ? उत्तर मसँग छैन । लोकले समवेत स्वरमा यो प्रश्न यो भयावह राजनीतिक अवस्थाका परोक्ष स्रष्टा पुष्पकमल दाहाललाई सोधोस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?