प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया दुईतिर, सचिवले निकाले सरकारी कदमको विरोध गर्दै वक्तव्य

मेलबर्न, अष्ट्रेलिया । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टीको प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउँदै वक्तव्य निकालेका छन् । यसअघि प्रवासी नेपाली एकता मञ्चका ३३ देशका नेतृत्वले कदम सही भएको भन्दै सरकारको बचाउ गरेका थिए । त्यसमा अध्यक्ष रमेश पाण्डेको समेत हस्ताक्षर छ । यसलगत्तै अष्ट्रेलियाबाट एकता मञ्चका सचिव प्रविण कँडेलले एक वक्तव्य प्रकाशित गर्दै प्रधानमन्त्रीको कदम घोर प्रतिगामी भएको लेखेका छन् । जनताको सुशासनको चाहनालाई यसले कुठाराघात गरेको आरोप पनि वक्तव्यमा लगाइएको छ ।
तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच नेपालमा एकीकरण हुँदैगर्दा प्रवासी संगठनहरु पनि मिलेका थिए । दुबै संगठन मिलाएर भागवण्डाका आधारमा विभिन्न देशमा अध्यक्ष र सचिव तोक्ने काम भएको थियो । अध्यक्ष एकपार्टीले लिएको अवस्थामा सचिव अर्को पार्टीको हुने निर्णय भएको थियो । यसै अन्तर्गत अष्ट्रेलियामा अध्यक्ष एमालेको कोटामा परेको थियो भने सचिव माओवादी केन्द्रले लिएको थियो ।
यस्तो छ सचिवको वक्तव्य
प्रेस बक्तब्य
श्रदय पत्रकार मित्रहरु तथा अस्ट्रेलियामा रहनुभएका नेपाली दाजुभाई दिदि बहिनीहरु ।
हामी आफ्ना बिभिन्न आवश्यकता र बाध्यताले हाल प्रबासमा रहेपनि हाम्रो मातृभूमि नेपालमा भैरहेका हरेक
घटनाक्रम प्रति जानकार र चिन्तित छौ । नेपालमा बिगतमा भएका राजनैतिक आन्दोलनका क्रममा पनि हामीले सधै शान्ति , अग्रमन र लोकतन्त्रका पक्षमा कुनै न कुनै योगदान गरेको इतिहास साछी छ । अहिले नेपालको राजनीतिक परिस्थिति फेरी प्रबाशी नेपालीहरुपनि चिन्तित हुनुपर्ने गरी परिबर्तन भएको छ ।
नेपालमा ठुलो बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिका रुपमा स्थापित राजनीतिक स्थीरतालाइ अन्त्य गर्ने गरी हालै नेपालका प्रधान मन्त्रि के पी शर्मा ओलीले गरेको संघीय संसदको बिघटन घोर प्रतिगामी कदम भएको हाम्रो निष्कर्ष छ । उक्त कदमले नेपाली जनताको शान्ती , स्थीरता, सुशासन र प्रगतीको चाहनालाइ पनि कुठाराघात गरेको छ ।
नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाइ दिएको अभिमतको अपमान हुने गरी, आफ्नो नितान्त व्यक्तिगत र गुटगत स्वार्थमा सिमित रहेर सिंगो पार्टी पंतिका निर्देशनलाई समेत अबमुल्यन गर्ने के पी ओलीको ब्यक्तिबादी अराजकताबादी प्रवृतिको हामी घोर भ्रत्सना गर्दछौ । के पी ओलीको उक्त कदम नेपालको संबिधानको उलंघन हुने गरी चालिएको गैर संबैधानिक र देशलाई आफ्नो सनकमा संचालन गर्न चाहने तानाशाही प्रवृतिको उपज भएको हाम्रो ठहर छ ।
बिश्वभरी जारी महामारीले देश आक्रान्त छ , बेरोजगारी र गरिबीले जनताको स्थिति नाजुक छ तर प्रधानमन्त्री
आफ्नो कुर्सि मोह र गुटगत स्वार्थमा लिप्त रहेर बेमौसमको बासुरी बजाई रहेका छन। यसबाट नेपालमा बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गणन्त्र र संघियता नै धरापमा पर्ने खतरा पनि पैदा भएको छ । यस स्थितिमा स्वोदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई हामी उक्त प्रतिगामी कदमको बिरुद्दमा एकताबद्द भै जननिर्वाचित प्रतिनिधिसभा पुनस्थानाको पक्षमा लामबद्द हुन हामी हार्दिक अपील गर्दछौ ।
सचिव
प्रविण कंडेल
प्रबाशी नेपाली एकता मंच , अस्ट्रेलिया
मिति २४ डिसेम्बर २०२०