अष्ट्रेलियामा कोरोनाको खोप वितरणकालागि बन्यो यस्तो योजना


मेलबर्न, अष्ट्रेलिया ।

आगामी मार्च महिनाबाट वितरण सुरु गर्ने कोभिड १९ कोरोना विरुद्धको खोप वितरणको योजना बनेको छ । सुरक्षित तवरमा करोडौं डोज खोप वितरण गर्नका लागि यतिबेला संघीय सरकारले डीएचएल र लिनफक्ससँग स्वास्थ्य विभागमार्फत सम्झौता गरेको छ ।

डिजिटल सुरक्षा एजेन्सी एकेन्टरले यी खोपहरुको ट्रयाक गर्नेछ । एकाउन्ट कम्पनी पीडब्लुसी कम्पनीले यसको वितरणमा सहयोग गर्नेछ । डीएचएल र लिनफक्सले खोप वितरणका लागि लिएदेखि नै हरेक समय यसको तापक्रम कति रहेको छ यसको विवरण राख्नुपर्ने सम्झौतामा लेखिएको छ ।

आगामी मार्चबाट सुरु हुने खोप वितरणमा अष्ट्रेलियामा रहेका सबैजसोलाई खोप निःशुल्क दिने तयारी छ । अहिलेसम्म फाईजर, नोभाक्स तथा अक्सफोर्ड युनिभर्सिटी अष्ट्राजिंकासँग खोप ल्याउने सम्झौता भइसकेको छ । यीमध्ये फाईजर खोप वितरणमा ठूलो समस्या छ ।

यसलाई माईनस ७० डिग्री सेल्सीयस चिसोमा राख्नुपर्ने भएका कारण वितरणमा खप्ठेरो छ । अष्ट्रेलियाले एक करोड डोज फाईजर खोप किन्ने सम्झौता गरेको छ । फाईजर खोपलाई यसअघि बेलायत, अमेरिका, क्यानडा, मेक्सिको, युरोपियन युनियन लगायतले आपतकालीन अवस्थामा लगाउन स्वीकृति दिइसकेका छन् । परीक्षणमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]