न्यूसाउथवेल्समा ८ नयाँ संक्रमित, क्रिसमसको पूर्वसन्ध्यामा घरमा पाहुना बोलाउने संख्या तोकियो

सिड्नी, अष्ट्रेलिया ।
कोभिड १९ कोरोना भाईरसको नयाँ ८ संक्रमित भेटिएपछि सिड्नीमा घरमा एकदिनमा आउन पाउने पाहुनाको संख्या १० बनाइएको छ । यसमा १२ वर्षमुनीका बालबालिका समावेश छैनन् । प्रिमियर ग्लेडिस बेरेजिक्लिनले एक घोषणा गर्दै २४ डिसेम्बर अर्थात् आज मध्यरातबाट यस्तो नियम लागू भएको र यो २६ तारिखसम्म कायम रहने बताइन् । २६ तारिखपछि बालबालिकासहित १० जना मात्र आउने पाउनेगरी नियम अझ कडा बनाइनेछ । सिड्नीको नर्दन बिच क्षेत्रमा गएको २४ घण्टामा थप ७ जना कोरोना संक्रमित भेटिएका छन् भने अर्को एकजना अन्यत्रको रहेको बताईन्छ ।
यससँगै सिड्नीमा सक्रिय संक्रमितको संख्या ९७ पुगेको छ । गएको २४ घण्टामा ४२ हजार परीक्षणहरुको नतिजा आएको थियो । प्रिमियर बेरेजिक्लिनले स्वास्थ्य अधिकारीहरुको मेहनतको प्रशंसा गरिन् । नर्दन बिच क्षेत्रबाट बाहिर जान रोक लगाइएको छ भने यहीँ रहेका घरहरुमा त्यहीँ रहेका व्यक्तिहरु जान पनि ५ जनाको संख्या तोकिएको छ । डिसेम्बर २७ बाट भने ग्रेटर सिड्नी क्षेत्रमा जस्तै नियम यहाँ पनि लागू हुनेछ ।
यसैबीच, साउथ अष्ट्रेलियाले त्यहाँ केही समय अघि फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमण नियन्त्रणमा आएको जनाएको छ । गएको २४ घण्टामा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् भने यसअघिका सबै निको भइसकेका छन् । यसक्रममा कूल ३३ जनामा कोरोनासंक्रमण देखिएको थियो ।