जन्मिदाको जोडी विवाहमा पनि जोडी नै, जुम्ल्याहा दिदीबहिनी, जुम्ल्याहा दाजुभाई

बिहेको घर, आँगन एउटै । जग्गे मात्र दुईवटा । कन्यादान गर्ने पनि उही । झापाको हल्दीवारी– ३ पाराखोपीमा बुधबार भएको बिहे हेर्नेकोे निक्कै घुइँचो थियो, जुम्ल्याहा दिदी बहिनीको ।संयोग पनि उस्तै । यस्तो कमैलाई जुर्छ । दुलाहा पनि जुम्ल्याहा दाजुभाइ । जन्ती उही, बिहेको गाडी एउटै । सँगै स्वयम्वर, सँगै अन्माएर एउटै घरबाट लगेका दुलही एकै घरमा भित्र्याए । बेहुली थिए – होम र कमला दाहालका जुम्ल्याहा छोरीहरू गङ्गा र जमुना । बेहुला थिए, दमक नगरपालिका निवासी ठूलो बाह्रघरेका राम र श्याम । १७ वर्षे दुलहीसँग २२ वर्षे दुुलाहाले कसे लगन गाँठो । निम्तालु उही, उपहार दुईतिर । सामान्य लेखपढ गरेका गङ्गा जमुनाको लगनगाँठो भने पठित दुलाहासँग कसियो । गङ्गाका दुलाहा राम संस्कृतमा शास्त्री र जमुनाका दुलाहा श्याम उत्तरमध्यमा हुन् । ‘त्यस्तो संयोग कमैलाई मिल्छ,’ बिहे हेर्न भेला भएका भन्दै थिए – ‘गङ्गा–जमुना र राम–श्याम भाग्यमानी रहेछन् ।’ हल्दीवारी वरपरका स्थानीय तथा निम्तालुले बिहे रोचक र रमाइलो भएको बताए ।