नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली पक्षको ताला !


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय कार्यलयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले ताला लगाएको छ । दुई अध्यक्षको नेतृत्वमा पार्टी कमिटीका समानान्तर बैठक चलिरहेको र आन्तरिक तनाव बढिरहेका बेला कार्यालयमा पनि ताला लगाइएको हो।

आइतबार ओलीले हठात संसद भंग गरिदिएपछि दुबै अध्यक्षको बैठक पार्टी कार्यालयमा बसेको छैन। प्रचण्ड–नेपाल पक्षले धुम्बाराहीमा बैठक राख्न खोजेको थियो। त्यसका लागि सोमबार पौने १२ बजे कार्यालयमा सामान मिलाउने तयारी हुँदे गर्दा महासचिवको निर्देशनमा कुनै काम नगर्न निर्देशन आएपछि प्रचण्ड–नेपाल पक्ष पछि हटेको स्रोतले जनाएको छ।

नेकपाका दुई जना कार्यालय सचिव छन्। ओली पक्षबाट ईश्वरी रिजाल र प्रचण्ड पक्षका श्रीराम ढकाल छन् । सोमबार पार्टी कार्यालयमा आएका कर्मचारीलाई बीचबाटैबाट फर्काइदिएछन् । अनि ताला लगाइदिएको खबर पायौं ।

पुगेका कर्मचारीलाई पनि आज कार्यालय बन्द हो अब कार्यालयमा बोलाएपछि मात्र आउनु भनेर कार्यालय सचिव इश्वरी रिजालले निर्देशन दिनुभएछ,’ प्रचण्ड–नेपाल निकट एक सथायी समिति सदस्यले भने, ‘अर्का कार्यालय सचिव श्रीराम ढकाल पुग्दा त कार्यालयमा ताला लगाएर रिजालजीहरु हिडिसक्नुभएछ ।’

धुम्बाराहीको कार्यालयलाई महासचिवको निर्देशनमा कब्जा गर्न खोेजिएको प्रचण्ड–नेपाल पक्षले बताएको छ । दुई फरक पार्टी अभ्यासको झल्को दिनेगरी भोलिको केन्द्रीय समितिको बैठकको सूचना पनि रिजाल र ढकालले छुट्टा छुट्टै पठाएका थिए ।

नेकपाका दुई अध्यक्षले आज (मंगलबार) फरक स्थानमा केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक राखेका छन् । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले बालुुवाटारमा विहान ९ बजे केन्द्रीय समितिको बैठक राखेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्की बैक्वेट बबरमहलमा दिउँसो १ बजेका लागि तय गरेका छन् । बैठकमा ओली पक्षको एजेण्डा सार्वजनिक गरिएको छैन।

तर, प्रचण्ड पक्षले भने आइतबार बसेको स्थायी समितिले गरेको निर्णय अनुमोदनका लागि बैठक तय गरेको जनाएको छ। प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षमा बहुमत केन्द्रीय सदस्य रहेका छन् । सो बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने र अध्यक्ष पदबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गर्नेछ । आजको बैठक दुबै अध्यक्षका लागि निर्णायक रहेको नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]