प्रधानमन्त्रीको घोषणाः अब जाडोले कोही मर्नुपर्दैन, नागरिक भने कठ्यांग्रिएर ज्यान गुमाउँदै !

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले ९७औँ पृथ्वीजयन्तीको अवसर पारेर दुई वर्षअघि २६ पुस ०७५ मा भनेका थिए, ‘अब एउटा कम्बल ओढ्न नपाएर तपाईंमा शीतलहरका कारण तड्पिएर कोही नागरिक पनि मर्दैन, सरकार छ यहाँ ।’
एक वर्षपछि ३ फागुन ०७६ मा त प्रधानमन्त्री ओलीले एक कदम अगाडि बढेर पछिल्ला दुई वर्षमा कोही नागरिक जाडोले कठ्यांग्रिएर मर्नु नपरेको दाबी नै गरे, त्यो पनि सार्वभौम संसद्मा । सरकारका उपलब्धि बताउने क्रममा उनले तराईमा जाडो तथा शीतलहरका कारण कोही पनि मृत्युको मुखमा नपुगेको जिकिर गरेका थिए ।
‘शीतलहरले बर्सेनि दजर्नौँ मानिस मर्थे, तर दुई वर्षमा जाडो र शीतलहरबाट कोही मरेका छैनन् । यो अनुभूति हो,’ उनको भनाइ थियो । जब कि ११ पुस ०७६ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २३ घर भएकी ४८ वर्षीया अनितादेवी कापडको चिसोका कारण मृत्यु भइसकेको थियो । त्यस्तै, आगो ताप्ने क्रममा नौजना गम्भीर घाइते भएका थिए । त्यसयता पनि नागरिकले चिसोले ज्यान गुमाउने क्रम रोकिएको छैन ।
पछिल्लो डेढ सातामा मात्रै सिराहामा चिसोले कठ्यांग्रिएर चारजनाको मृत्यु भइसकेको छ । चिसो बढ्ने क्रम बल्ल सुरु भएकाले यस वर्षको मानवीय क्षति अझ धेरै हुने अनुमान गरिएको छ । चिसोबाट जोगिन घुर ताप्ने क्रममा पनि पाँचजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका– ५ जिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका– ११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका– ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र वडा नम्बर १ का नाम खुल्न नसकेका ५० वर्षीय पुरुष रहेका छन् ।
सिराहाको भगवानपुर गाउँपालिका– १ देवनाथका उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव र अनुष्का यादव तथा सुखीपुर नगरपालिका– ५ की पिंकी मण्डल घुर ताप्ने क्रममा आगोबाट जलेर घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको नयाँ पत्रिकाले लेखेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले चिसो तथा शीतलहरका कारण कठ्यांग्रिने क्रम सुरु भएकाले नागरिकलाई जोगाउन स्थानीय तहहरूले सचेतनामा जोड दिनुपर्ने बताए ।
त्यस्तै, बाजुरा सदरमुकाम मार्तडीमा पनि चिसोले कठ्यांग्रिएर ३७ वर्षीय लालबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरको भुइँतलामा सुतेका विक मृत अवस्थामा फेला परेका थिए । चिसोका कारण उनको मृत्यु भएको इन्स्पेक्टर बलेन्द्र नाथले बताए ।