एनआरएन नाईट ७ तारिख मेलबर्नमा, ८ मार्चमा पर्थ र १३ मार्चमा सिड्नीमा हुँदै, मुख्य आकर्षण कोमल ओली र ईन्दिरा जोशीको प्रस्तुति

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले पाथीभरा श्रद्धाश्रमको सहयोगार्थ एनआरएन नाईट आयोजना गर्ने भएको छ । यस संस्करणको पहिलो प्रस्तुति मेलबर्नमा आगामी ७ तारिखका दिन हुँदैछ । मेलबर्नमा मोरंग समाजसमेतको सहकार्यमा कार्यक्रम भइरहेको छ । त्यसको भोलिपल्ट ८ मार्चमा पर्थमा अर्को कार्यक्रम आयोजना गरिएको छ । त्यसपछि सिड्नीमा १३ मार्चका दिन हर्सटभिलस्थित मराना अडिटोरियममा साँझ ७ बजेपछि कार्यक्रम हुनेछ । सहयोगी हात र मनोरञ्जनको माझ, जाउँ एनआरएन साँझ नारा तय गरिएको यस कार्यक्रमबाट उठेको रकम विराटनगरमा निर्माण गर्न लागिएको पाथीभरा श्रद्धाश्रमको सहयोगमा खर्च गरिनेछ । यी मनोरञ्जनात्मक साँझको मुख्य आकर्षण गायिका कोमल ओली र ईन्दिरा जोशीका साथै स्थानीय प्रतिभाहरु हुनेछन् । साथमा हाँस्य अभिनेता भुपेन्द्र चुडालले पनि सबै एनआरएन नाईटका कार्यक्रममा आफ्नो प्रस्तुति दिने तयारी गर्नुभएको छ । गायिका कोमल ओलीले आपूm एउटा पवित्र उद्देश्यका निम्ति आयोजना गरिएको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको भन्दै सबैलाई निम्तिा दिएकी छिन् । यसैगरी गायिका ईन्दिरा जोशील पनि मनोरञ्जनात्मक साँझमा सहभागी हुन, झुम्न, नाच्न र अभिभावकहरुको श्रद्धाका लागि निर्माण गर्न लागिएको श्रद्धाश्रममा सहयोग गर्न आग्रह गरेकी छिन् । एनआरएन अष्ट्रेलियाले विराटनगर उपमहानगरपालिकासँगको सहकार्य र समन्वयमा निर्माण गर्न लागेको श्रद्धाश्रम नेपालमै नमूना बनाउने तयारी गरेको छ । श्रद्धाश्रमको निर्माण कार्य सुरु भइसकेको छ । यसअघि पनि एनआरएन अष्ट्रेलियाले वाक फर नेपाल नामक कार्यक्रम मार्फत श्रद्धाश्रमका लागि सहयोग जुटाएको थियो ।