प्रचण्ड–माधव पक्षका जिल्ला अध्यक्ष र सचिव पेरिसडाँडामा भेला !

काठमाडौँ । पछिल्लो पटक पार्टी विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड माधव नेपालले आफु पक्षका जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ । उक्त समूहल पहिलो दिन आज प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरु पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलामा सहभागी हुँदैछन् । अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने जनाइएको छ ।
प्रचण्ड नेपाल समूहले यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत गरिसकेको छ । पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।
अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीले आनाकानी गरिरहेको भन्दै ती नेताले आजको बैठकमा यसबारेमा सचिवालयका नेताहरुले आफ्नो पक्षको धारणा राख्ने स्रोतले बतायो । काठमाडौंमा आएका जिल्ला अध्यक्ष र सचिवहरुलाईै आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला जिल्ला पठाउने तयारी प्रचण्ड पक्षको छ ।
संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवाद थप चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच विवादित अध्यादेश फिर्ता गर्ने सहमती भएपनि अहिले सम्म फिर्ता भएको छैन् । ओलीले अध्यादेश फिर्ता गर्न आनाकानी गरेपछि नेताहरु थप ससंकित भएका छन् ।