एक्सपर्ट र सगरमाथा क्रिकेट क्लबको मिलनपछि बन्यो ‘एक्सपर्ट सगरमाथा ब्लूज’

मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नको प्रतिष्ठित सगरमाथा क्रिकेट क्लब र एक्सपर्ट क्रिकेट क्लबबीचको सहकार्यमा अब एक्सपर्ट सगरमाथा ब्लूजका नामले सञ्चालित हुने भएको छ । यस सम्बन्धी जानकारी दिन सप्ताहन्तमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको छ । ब्रोडमेडोजस्थित ज्याक रुपर्स पार्कमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सगरमाथा क्रिकेट क्लबका उपाध्यक्ष एवं प्रवक्ता सुदिप न्यौपानेले यो सहकार्य दीर्घकालसम्म अघि बढ्ने योजनाका साथ भएको जानकारी दिए । उनले एक्सपर्ट सगरमाथा ब्लूज र एक्सपर्ट क्रिकेट क्लब दुबै अस्तित्वमा रहेपनि सहकार्य घनीभूत बनाउने बताए ।
क्लबका अध्यक्ष एवं संस्थापक सञ्जय कँडेलले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल्न र क्लबको गरिमालाई अघि बढाउन आग्रह गरेका थिए । उनले स्थापनादेखि यहाँसम्मको यात्रामा पाएको सफलतालाई निरन्तरता दिँदै आगामी दिनमा अझ सशक्त भएर आउने बताए ।
उक्त अवसरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नका निर्देशक बसन्त पोखरेलले नेपाली क्रिकेटको विकासमा एक्सपर्टले गरिरहेको कार्यमा सगरमाथा क्रिकेट क्लबसँगको मिलनले नयाँ आयाम थप्ने आशा व्यक्त गरे । उनले यो निर्णयपछि क्रिकेट खेलाडीहरुका लागि नयाँ अवसरहरु सिर्जना हुने र खेलप्रेमी दर्शकहरुको लागि अझ सशक्त टिमको उदय हुने पनि बताए । उनले नेपालको प्रिमियर लिगमा खेल्नका लागि अष्ट्रेलियाभरिका चार उत्कृष्ट खेलाडीलाई एक्सपर्टकै प्रायोजनमा खेल्न जाने अवसर पनि दिइने घोषणा गरे । उनले सगरमाथा क्रिकेट क्लबका खेलाडीहरुको प्रशंसा गर्दै आगामी दिनमा क्रिकेटको विकासमा उल्लेखनीय कार्य गर्न सकिने आशा व्यक्त गरेका छन् ।
कार्यक्रममा टिमको नयाँ क्याप्टेनको घोषणा पनि गरिएको थियो । कुशल तुलाधरले नयाँ क्याप्टेन आशिष जीसीलाई हस्तान्तरण गरेका थिए । क्लबले आगामी दिनमा महिला र बालबालिकाहरुको छुट्टै टिम बनाउने र एकेडेमी सञ्चालन गर्ने लक्ष्य लिएको छ । गत वर्ष एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खड्काको नेतृत्वमा अष्ट्रेलियाभर कार्यक्रम गरेको थियो । एक्सपर्टले अष्ट्रेलियामा एक्सपर्ट क्रिकेट क्लब र नेपालमा धनगढी ब्लूज क्रिकेट क्लब सञ्चालन गरिरहेको छ ।

सगरमाथाको गौरवपूर्ण विगत
पाँच नेपाली युवाहरुको सक्रियतामा स्थापना गरिएको सगरमाथा क्रिकेट क्लबमा हाल ५० भन्दा बढी खेलाडीहरु आबद्ध छन् । न्याभ कप क्रिकेट प्रतियोगितामा तीनवटा टोली समावेश गर्ने सगरमाथा पहिलो क्ल्ब बन्न सफल भएको थियो । सगरमाथाका खेलाडीहरुले अष्ट्रेलियाको ग्रेड क्रिकेटमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । क्लबले भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले आयोजना गरेको फ्रेन्डस कप उपाधि जितेको थियो भने रोयल राईनोजले आयोजना गरेको पहिलो बीएमडब्लू कप २०१८ को उपाधि पनि हात पारेको थियो । यस्तै नर्थ मेट्रो क्रिकेट क्लबको आयोजनामा भएको ग्रेडस्तरको केम्प शिल्ड विजेता, ऋचा मेमोरियल क्रिकेट प्रतियोगिता २०१९ को उपाधि सगरमाथा क्लबले जितेको थियो भने बीएमडब्लू कप २०१९, जीसीसी कप २०१७, न्याभ कप २०१७, प्राईड अफ नेशन कप मा उपविजेता बन्न सफल भएको थियो ।