भिक्टोरियाका जेष्ठ नेपाली नागरिकको मञ्च, झा बने दोश्रो पटक अध्यक्ष

मेलबर्न, अष्ट्रेलिया ।
नेपाली मूलका अष्ट्रेलिया निवासी जेष्ठ नागरिकहरुको मञ्च अष्ट्रेलियन नेप्लीज सिनियर सिटिजन सोसाईटीको साधारणसभाले वर्तमान अध्यक्ष सुभद्रा झाकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सप्ताहन्तमा गरिएको कार्यक्रममा सर्वसम्मतिले झालाई नै दोश्रो कार्यकाल पनि नेतृत्व गर्न आग्रह गरिएको थियो । साधारणसभाले अध्यक्ष झासँगै उपाध्यक्षमा दिपकराज पन्त, कोषाध्यक्षमा रिता पन्त, सहकोषाध्यक्षमा पृथ्वीराज राई, सचिवमा सुजाता श्रेष्ठ, सहसचिवमा राज श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरुमा भरनशेर राई, गणेशभक्त श्रेष्ठ, अमृता गुरुंग, पर्शुराम तामांग, मदन ढुंगेल, छेवान श्रेष्ठ चुनिएका छन् ।
साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले एकजुट भएर सबैजनाले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका थिए । योन्जनले यसअघिको कार्यसमितिले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए । साधारणसभामा अध्यक्ष झाले अघिल्लो कार्यकालमा भएका कामहरुको प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष पृथ्वीराज राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
जेष्ठ नागरिकहरुको मञ्च भएपनि केही पदहरुमा युवाहरुले समेत सहभागिता जनाउँदै विविध कार्यमा सहयोग गर्दै आएका छन् । साधारणसभाको नयाँ नेतृत्व चयनका लागि भोला गिरी, राजेश आचार्य, समिर रघुवंशी र निराजन गौली सम्मिलित निर्वाचन मण्डल बनाइएको थियो ।
