भिक्टोरिया नयाँ कोरोना संक्रमित शून्य सफलतामा, रोकथाममा युवा प्रोत्साहन गर्ने यस्तो योजना

मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा ९ हजार ७ सय ११ परीक्षण भएकोमा नयाँ कोभिड १९ कोरोना संक्रमित भेटिएका छैनन् । यससँगै हाल राज्यमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ७ मा सीमित बनेको छ । यी सबै अन्तर्राष्ट्रिय उडान मार्फत मेलबर्न आएका यात्रीहरु हुन् ।
यसैबीच, भिक्टोरिया सरकारले कोभिड सुरक्षित व्यवहार प्रबद्र्धन गर्नका लागि युवाहरुबाट प्रस्ताव माग गरेको छ । यसरी आउने प्रस्तावमध्ये छनोट भएकाहरुलाई २० हजार डलरसम्मको अनुदान उपलब्ध गराउने उसको योजना छ । मुख्यत सांस्कृतिक र भाषिक रुपमा फरक फरक समूदायलाई लक्षित गर्ने सरकारी उद्देश्य हो । यस्तै बहुसांस्कृतिक समूदायमा युवाहरुको आवाज प्रोत्साहित गर्ने र उनीहरुलाई रोजगारी सिर्जना गर्ने पनि अर्को उद्देश्य कार्यक्रमको छ ।
यस्तो प्रस्तावमा भिडियो देखि भिज्युअल आर्टसम्म समावेश छ । यसरी आउने प्रस्तावहरुलाई स्वतन्त्र युथ टास्क फोर्सले मूल्यांकन गर्नेछ । छनोट भइसकेपछि उनीहरुलाई तालिम दिइनेछ भने कार्यशाला आयोजना गरी उनीहरुको कामको योजना बनाउन तथा वितरण गर्न सहयोग गरिनेछ । यहाँ दिन सकिन्छ आवेदन