संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु !

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि साँझलाई सारिएको थियो । यसबीचमा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति कार्यालयले गणपूरक संख्या कटौती गर्ने प्रावधानसहितको अध्यादेश जारी गरेको थियो ।
बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित् छन् । तर, सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अनुपस्थित् छन् ।
अध्यादेशअनुसार निर्णय गर्न सहज तुल्याएपछि केही ढिलोगरी बैठक बसेको हो । अहिले जारी बैठकले संवैधानिक निकायमा रिक्त रहेका पदहरू पूर्ति गर्ने बताइएको छ । अध्यादेशमा संवैधानिक परिषद्का अध्यक्षसहित बैठकमा कायम रहेको बहुमतले निर्णय गर्न सक्नेछ ।
यसअघि परिषदसम्बन्धी ऐनमा पेश भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने व्यवस्था थियो । सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउनुपर्ने व्यवस्था थियो । दोस्रो बैठकबाट पनि निर्णय हुन नसकेमा बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सक्ने प्रावधान थियो ।