घर नेपाल, बाटो भारतकोः ९ महिनादेखि घर भित्रै !

विराटनगर । न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न । तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर– १७ का गजेन्द्र ठाकुरका परिवार । घर नेपालमा भए पनि भारतको बाटो प्रयोग गरेर घर जानुपर्ने बाध्यताले उनको परिवार सीमा सिल गरिएसँगै घरबाट निस्कन पाएको छैन । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ठाकुरको परिवार समस्यामा परेको हो ।
बसोबास नेपालमा भए पनि बाहिर निस्केर हिँड्न भारतको बाटो प्रयोग गर्नुपर्छ । अर्को कुनै विकल्प छैन । लकडाउनको समयमा नेपालीभन्दा भारतमा समस्या थियो । नेपाल आउने बाटो अरू थिएन । अहिले भने भारतले एकतर्फी रूपमा सीमा नाका खुला गरेको छ, तर नेपालतर्फको सिमाना बन्द नै छ ।
ठाकुर परिवारको घरभन्दा पश्चिम नेपाल–भारत सीमाको दसगजा पर्दछ । दसगजासँगै जोडेर भारततर्फ सडक छ । त्यही सडकबाट जोगबनी भन्सार नाका हुँदै ठाकुर परिवार नेपाल आउजाउ गर्ने हुँदा अहिले उनीहरू नेपालमा घर भए पनि नेपाली क्षेत्रमा आउन पाउँदैनन् । ठाकुर परिवारका चार दाजुभाइमध्ये माइला गजेन्द्र ठाकुर हुन् । दाजु कृष्णकुमार ठाकुर, गजेन्द्र, रवीन्द्र र अशोकले पैतृक सम्पत्तिमा चारवटा घर बनाएर चारै जना अलगअलग बसेका छन् ।
ठाकुर परिवार त्यहाँ बस्न थालेको सात पुस्ता भयो । ७१ वर्षीय गजेन्द्र ठाकुरले भने ‘मेरा जिजुबाजेले आर्जेको १० बिघाको एउटै प्लट थियो, जिजुबाजे फिरन ठाकुरले विस १९३० मा तिरो तिरेको रसिद पनि मसँग छ ।’ फिरन ठाकुरपछि उनका छोरा जुगेश्वर ठाकुर, नाति रामसोभित ठाकुर र पनातिहरूमा उनका चार छोरा कृष्णकुमार, गजेन्द्र, रवीन्द्र र अशोक हुन् । उनीहरूका पनि पनातिसम्मको पुस्ता त्यही ठाउँमा बसोबास गरिरहेको अन्नपूर्ण पोष्टले लेखेको छ । २००४ सालमा राणाले स्थापना गरेको रघुपति जुट मिलले ठाकुर परिवारको केही जग्गा हड्पिएर घरमै सटाएर तीन मान्छेबराबरको अग्लो पर्खाल लगाइदियो । २०३३ सालमा आएर बाँकी जग्गा पनि विराटनगर भन्सार कार्यालयले अधिग्रहण गरिदियो । उत्तर पूर्वको जग्गामा पनि भन्सारले रघुपति जुट मिलले लगाए जत्रै अग्लो पर्खाल लगाएर घेरेपछि ठाकुर परिवार घेराबन्दीमा परेको थिए ।
पहिले विराटनगरको रोडशेष चोक हुँदै मिल्स एरिया जाने सडक ठाकुर परिवारको घरै अगाडि भएर बुधनगरसम्म पुगेको थियो । विराटनगर भन्सारले बाटोसमेत मासेर दिवाल उठायो । बाटो र जग्गाको मुआब्जाका लागि ठाकुर परिवारले वर्षौँसम्म मुद्दा लड्यो । जग्गाको थोरथार मुआब्जा पाए पनि सो परिवारले बाटो पाएन । बाटाका लागि भारतमै निर्भर रहनु प¥यो । गजेन्द्र ठाकुरसँग जिजुबाजेका पालादेखिकै कागजपत्र छन् ।