अमेरिकी नागरिकलाई कोरोना खोप बाध्यकारी हुने छैनः बाइडेन !


एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लिन अमेरिकीलाई अनिवार्य नगर्ने स्पष्ट पारेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन आग्रह गरेलगत्तै बाइडेनको यो भनाइ सार्वजनिक भएको हो । कोरोना भाइरसबाट जोगिनको लागि खोप जनतासामु आफूले लैजाने तर खोप लगाउन अनिवार्य भने कसैलाई पनि नगर्न उनको भनाइ छ ।

पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्लू बुस र बिल क्लिन्टनले कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरिरहेका बीबीसीले जनाएको छ । ​बाइडेनले यसअघि आफ्नो कार्यकालको सुरुको एक सय दिनसम्म सबैलाई अनिवार्य मास्क लगाउन अनुरोध गर्ने बताइसकेका छन् ।

अमेरिकामा शुक्रबार एकैदिन २८ सयभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७५ हजार नाघेको छ भने अहिलेसम्म एक करोड ४५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । ​नवनिर्वाचित राष्ट्रपति बाइडेनले आउँदो जनावरी २० देखि आफ्न कार्यकाल सम्हाल्नेछन् ।

तेस्रो चरणको परीक्षणमा ९५ र ९४ प्रतिशत प्रभावकारी देखिएका फाइजर र मोदेर्नाका खोपले अमेरिकामा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा निवेदन दिएका छन् । बेलायतले फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ ।

अमेरिकाले डिसेम्बरको मध्यसम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना छ । गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिका रुपमा मेरो शक्तिले भ्याएसम्म मैले खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने छु । तर कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्तिको निर्णयको कुरा हो ।’हालै भएको एक अध्ययन अनुसार मात्रै ६० प्रतिशत अमेरिकीहरु कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि तयार छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]