बेलायतका नागरिकले अर्को हप्ताबाट कोरोना भाइरसको भ्याक्सिन लगाउन पाउने

एजेन्सी । बेलायतमा अर्को हप्ताबाट कोरोना भाइरस विरूद्धको भ्याक्सिन वितरण सुरू गरिने भएको छ । बुधबार बेलायतको सरकारले फाइजर/बायोएनटेकको भ्याक्सिन प्रयोग गर्ने अनुमति दिएसँगै भ्याक्सिन वितरण सुरू गरिने भएको हो ।
बेलायतको स्वास्थ्य नियमनकारी निकाय एमएचआरका अनुसार कोरोना भाइरससँग लड्न ९५ प्रतिशत प्रभावकारी देखिएको भ्याक्सिन अर्को साताबाट बेलायतका नागरिकले लगाउन पाउने भएका छन् ।
अबको केही दिनमा नै अत्यावश्यक समूहमा मानिसहरूलाई कोरोना भाइरसको खोप वितरण गर्न सुरू गरिने बिबिसीमा उल्लेख गरिएको छ ।
२० मिलियन जनसंख्याका लागि बेलायतले ४० मिलियन डोज भ्याक्सिनको अर्डर गरिसकेको छ । ती मध्ये केही दिनमा नै १० मिलियन डोज उपलब्ध हुने बिबिसीमा उल्लेख छ ।
कोरोना भाइरसको भ्याक्सिन प्रयोग अनुमति दिने पहिलो राष्ट्र बेलायत भएको छ । त्यहाँ कोरोना भाइरसको दोश्रो लहर सुरू भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।