स्कटल्याण्डले सबै महिलालाई निः शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने

एजेन्सी । युरोपियन मुलुक स्कटल्याण्डले सबै उमेर समूहका महिलालाई निः शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । मंगलबार स्कटल्याण्डको संसद्ले परिमार्जित स्वस्थ्य नीति पारित गरेसँगै निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने स्कटल्याण्ड पहिलो राष्ट्र बनेको छ ।

युकेको पत्रिका ‘द गार्जियन’मा प्रकाशित रिपोर्ट अनुसार स्कटल्याण्डले सबै सरकारी तहलाई अावश्कता अनुसार निःशुल्क प्याड वितरण गर्न निर्देशन दिएको छ ।

स्कटल्याण्डका सामुदायिक स्थान, युथ क्लब तथा फार्मेसीमा पनि निःशुल्क प्याड वितरण गरिने बताइएको छ । यसका लागि वार्षिक ८.७ मिलियन पाउण्ड खर्च हुने पनि त्यहाँको सरकारले अनुमान गरेको छ । स्कुल तथा कलेजमा पनि महिलालाई अति आवश्यक पर्ने वस्तुहरू सहज रूपमा वितरण गर्न उत्प्रेरित गरिने बताइएको छ ।

स्कटल्याण्डको सरकारले ‘पेरियड पोभर्टी’ अन्त्य गर्नका लागि यो योजना अघि सारेको बताएको छ । स्कटल्याण्डकी स्वास्थ्य प्रवक्ता मोनिका लेननले यो प्रस्ताव २०१९ मा दर्ता गराएकी थिइन् ।

२०१८ मा स्कटल्याण्डले सबै स्कुल तथा विश्वविद्यालयमा महिलाका लागि निः शुल्क स्वच्छ सामग्री वितरण गर्ने घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?