एमाले स्थायी कमिटीको बैठक जारी, केन्द्रीय सदस्यहरुको कार्यविभाजनबारे छलफल


umlनेकपा (एमाले) को स्थायी कमिटीको सातौँ बैठकमा केन्द्रीय कमिटीमा मनोनयन तथा केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल भएको छ । ती विषयमा सोमबार बस्ने बैठकले निर्णय लिने भएको छ । आजको बैठकमा मनोनयन र कार्यविभाजनबारे विधानको व्यवस्था, जिम्मेवारीको आधार, विगतको परम्परालगायत सवालमा छलफल भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकबाट ती विषयमा आवश्यक निर्णय लिन सोमबार पुनः बैठक बस्दैछ । एमालेको गत असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यविभाजन हालसम्म भएको छैन । बैठकले आगामी चैत २८ गतेका लागि घोषणा गरिएको बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि सम्भाव्य उम्मेदवारको नाम आगामी १० दिनभित्र संस्थागत सिफारिस पठाउन बाग्लुङ जिल्ला कमिटी र बाग्लुङ क्षेत्र नं १ को क्षेत्रीय कमिटीलाई निर्देशन गर्ने निर्णय पनि गरेको पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले स्थानीय जनतालाई सेवा सुविधामा सहजता प्राप्त होस् भन्ने उद्देश्यका साथ बाराको सिमरामा मालपोत कार्यालयको शाखा खोल्ने भूमिसुधार मन्त्रालयको निर्णयको विरोध गर्ने नाममा कलैयामा अवस्थित एमाले बारा जिल्ला कमिटीको कार्यालयलगायत नेका पार्टी कार्यालयसमेतमा गरिएको तोडफोड र आगजनीको निन्दा गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]