दिल्लीमा केजरिवालको झाडूले बढार्ला भ्रष्टाचार ?


दिल्लीको मुख्यमन्त्रीमा प्रचण्ड बहुमतका साथ उदाएको आम आदमी पार्टी अर्थात् आपका प्रमुख अरविन्द केजरीवाल विराजमान भएका छन् । औपचारिक रुपमा सपथग्रहण गरेपछि उनी करिब एक वर्ष पहिले आफैंले दिएको राजीनामापछि शक्तिसञ्चय गर्दै पुनः उदाएका हुन् । अब पाँच वर्षका लागि उनको दिल्ली सत्ता कसैले पनि हल्लाउन सक्नेछैन । भ्रष्टाचार विरोधी छवि निर्माण गरेका उनका लागि सबैभन्दा पहिलो चुनौती नै दिल्लीमा रहेको भ्रष्टाचारको जालो हटाउनु हो । एकराज पाठकको विश्लेषण पढौं,
kejariwalभारतमा बेलायती साम्राज्य कायम रहेका बेला महात्मा गान्धीले बेलायती महारानीलाई भेट्ने समय तय भएछ र गान्धीले लगाउने पोसाकको बारेमा बेलायती शासकहरुबाट सोधनी भएछ । तर महारानीलाई भेट्न सुट लगाएर जानुपर्ने भनेपछि गान्धीले भनेछन्– ठिकै छ त्यसोभए अर्काे कुनैदिन भेटौँला । सधैँ धोती र ओढ्नेमा मात्र रहने गान्धीले सुट लगाउन मानेनन् र त्यस समयमा महारानीलाई भेट्न पनि गएनन् । तर भारतमा प्रधानमन्त्री पदमा आसिन भएपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी भने १४ लाख भारतीय रुपैयाँ पर्ने एउटै कोटमा दुई हप्ताअघिमात्र एक सार्वजनिक समारोहमा देखापरे । केही महिनामात्र अघि सम्पन्न आम निर्वाचनका बेला सदा महात्मा गान्धीको उदाहरण दिने र आफूलाई सामान्य नागरिकका रुपमा प्रस्तुत गर्ने गरेका प्रधानमन्त्री मोदीको यो पछिल्लो व्यवहार लगभग भारत भर नै आलोचित बन्न पुग्यो । उनले लगाएको एउटै कोट थियो त्यति मूल्यको, जहाँ जताततै नरेन्द्र मोदी लेखिएको थियो । स्वर्ण अक्षरले लेखिएको सो कोटमा तिनै अक्षरको लेपनका लागि त्यतिधेरै मूल्य परेको थियो । कोट लगाएकै दिन आलोचित बन्न पुग्नुभएका प्रधानमन्त्री मोदीलाई त्यस कोटको मूल्य थाहा थियो वा थिएन भन्ने बारेमा निकै चर्चा चलेको भए पनि आफैले लगाएको कपडाको मूल्य थाहा नहुने भन्ने कुरै आउँदैन भन्नेहरुको सङ्ख्या निकै धेरै थियो । त्यसपछिका भारतीय अखबारहरुले आफूलाई महात्मा गान्धीको आनीबानीको निकट देखाउने प्रयत्न गर्ने नरेन्द्र मोदीले गान्धीको उदाहरण वा उद्धरणसमेत पनि उच्चारण गर्ने अधिकार नराख्ने भन्नेसम्मको टिप्पणी गरेका थिए । केही महिनाअघिमात्र प्रधानमन्त्री बनेका उनको पहिचान एउटा चिया पसलेको छोरा र सामान्य नागरिकका रुपमा गराएको भारतीय मिडियाले यो पोशाक पहिरनपछि भने उनको आलोचनामा नै उत्रियो ।
भारतमा अमेरिकी राष्ट्रपति बाराक आबोमा आएको बेला दुई हप्तामात्र अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको कोटको प्रसँग त्यतिबेला भारतीय सञ्चारले निकाले जब ‘मफलर म्यान’ अर्थात् सधैँं गलबन्दीमा मात्र देखापर्ने अरविन्द केजरिवाल नयाँ दिल्ली राज्यमा आफ्नो दल आम आदमीलाई अभूतपूर्व रुपमा विजय गराउन सफल भए । एक त सो दल भारतमा व्याप्त चरम भ्रष्टाचारको वैकल्पिक कोखबाट जन्मलिएको थियो भने अर्कातर्फ एकजना सादगी प्रधानमन्त्रीका रुपमा परिचित नरेन्द्र मोदीको यति छोटो समयमै लवाईप्रतिको आशक्तिले केजरिवालको निर्वाचन अभियानमा पनि थप मलजल पाएको थियो । भ्रष्टाचारीका गीत बनाएर सडकमा मजुरा बजाउँदै हिँड्ने तिनै अभियन्ता हुन् केजरिवाल जसले यसैहप्ता नयाँ दिल्लीमा भएको त्यस राज्यको विधानसभाको निर्वाचनमा अभूतपूर्व जित हात पारे । जित पनि कस्तो भने लगभग बिनाप्रतिपक्षको । नयाँ दिल्ली राज्यका ७० सिटमध्ये प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीन सिट दिएर आफूले ६७ सिट ल्याए । अझ रमाइलो पक्ष त के छ भने त्यहाँ निरन्तर १५ वर्षसम्म शासन गरेको भारतीय काँग्रेसले एक स्थान पनि हातपार्न सकेन । पन्ध्र वर्षसम्मको शासनमा त्यहाँका जनता काँग्रेससँग कसरी रिसाएका रहेछन् भन्ने यो भन्दा बलियो उदाहरण खोज्न अन्त कतै जानुपर्दैन । केही दिनअघिसम्म प्रधानमन्त्री मोदीले नै उनलाई अराजकमात्र भनेनन् जङ्गलका नक्सालवादीकै सङ्ज्ञासमेत दिए । त्यतिमात्र नभई दिल्लीका पूर्व मुख्यमन्त्री अथवा एउटा राजनीतिक पार्टीका नेताका हैसियतले गएको २६ जनवरी (गणतन्त्र दिवस) का अवसरमा प्रधानमन्त्री मोदीले केजरिवाललाई निम्ता पनि गरेनन् । आज तिनै नेताको झाडू चिह्नलाई नयाँ दिल्लीजस्तो राजधानी सहरका जनताले यो भारि मत दिलाए र त्यहाँको भ्रष्टाचार बढार्ने जिम्मा पनि लगाए ।कतिपय भारतीय सञ्चारले यसै हप्ता लेखेका छन्– भारतमा भ्रष्टाचार घाँटीसम्म नआएको भए आम आदमी जस्ता पार्टी पनि जन्मिदैनथे र त्यति हदसम्म पुगेर शून्य नै स्थान हातलाग्ने गरी जनताले त्यहाँका परम्परागत शक्तिलाई पछार्ने पनि थिएनन् । यसलाई अति सर्वत्र बर्जयेत नै भन्नुपर्छ किनभने कुनैपनि क्षेत्रमा अति भएपछि यस्तै हुन्छ । आज भारतमा चुलिएको यो चर्चाले नेपाल र दक्षिण एसियाली देशमा नै राम्रो स्थान ग्रहण गरेको छ । यो उदाहरणले श्रीलङ्कामा पनि निकै राम्रो काम गरेको देखिन्छ । हालैमात्र केजरिवालकै शैलीमा शक्तिमा अकस्मात उदाएका श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकलाई पनि यो दृष्टान्तले मलजल ग¥यो । श्रीलङ्काली सञ्चारले आफ्ना समाचारमा लेख्छन्– जसरी नातावाद र भ्रष्टाचारका कारण राजापक्छे शासनको अन्त्यभयो त्यस्तै पृष्ठभूमिबाटै भारतमा पनि केजरिवाल उदाएका छन् । केजरिवाल भारतमा त्यसै उदाएका होइनन् । यसका लागि उनीमाथि धेरै र ठूल्ठूला भ्रष्टाचारीहरूको सहयोग रहेको छ भन्नुपर्छ, जसको अतिवादले केजरिवालको अभियानको विजारोपण ग¥यो । सन् २०११ मा भारतमा कमनवेल्थ ओलम्पिक गेम भएको थियो । त्यसका लागि भएका तयारी र संरचना निर्माणमा भएका भ्रष्टाचारले त्यहाँको अनियमितताको असली रूप देखाएदिएको थियो । त्यसक्रममा केजरिवालले भ्रष्टाचार विरोधी अभियानलाई तीव्र पारेका थिए । त्यसबेला विदेशी खेलाडीसमेत आयोजक राष्ट्र भारतले कमसल खाना खुवाएको र त्यस्तै होटलमा राखेको भन्दै खेल्न नआएको, पौडी पोखरी चुहिएका, फुटबलका प्याराफिट खसेर दर्शक नै घाइते भएका दृश्यहरू नयाँ दिल्लीको युवापुस्ताले आफ्नै आँखाले देख्यो र भ्रष्टाचार कस्तो हुँदोरहेछ भन्ने कुराको अनुभूति पनि ग¥यो । त्यसैबेलादेखि सरकारप्रति औँला ठड्याएर चुनाव कुरेर बसेका नयाँ दिल्लीका युवाले यसअघिको आम निर्वाचनलाई त्यस समयको शासन सञ्चालक काँग्रेस पार्टीलाई पातालमै पु¥याइदियो । तर उनीहरुको रिस अझै मरेको रहेनछ भन्ने प्रमाणित यो पछिल्लो चुनावबाट पनि भएको छ । केजरिवाल गत वर्षको विधानसभाबाट पनि अल्पमतका मुख्यमन्त्री भएका छन् । उनले त्यहाँभित्र रहेको लुटको रूप बाहिर ल्याइदिए र त्यसका विरुद्ध लड्न नसकेपछि ४९ दिनमै राजीनामा दिएर हिँडे । उनले त्यस समयमा सार्वजनिक गरेका अनियमितताबाट तर्सिएका संभ्रान्त वर्ग र नेताले उनलाई पागलको सङ्ज्ञा दिन पनि पछि परेनन् । तर केजरिवालले सही काम गरिरहेका छन् भन्ने कुराबाट दिल्लीका शिक्षित जनता भने चनाखो नै थिए र आज उनीहरुले नै यो परिणाम दिए । भारतको सबैभन्दा राम्रो अर्थात् आकर्षक मानिने कर अधिकृतको जागिर छोडेर उनी देशमा भ्रष्टाचार विरोधी अभियान चलाउन थालेको पनि बर्षौँ भैसक्यो । यसैका लागि उनले एसियाको नोबेल मानिने म्यागासेसे पुरस्कार पनि पाए । उनले आफ्नै हातले हजारौँ सूचना मागेका छन्, अनगिन्ती अनियमितताहरू छताछुल्ल पारेका छन् र कयौँ राज्यका राजनीतिक भ्रष्टाचारहरूका कालाकर्तुत बाहिर ल्याइदिएर राज्यको लुटका विविध रूप दोखाइदिएका छन् । भारतलाई सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनमा संसारकै एक एत्कृष्ट नमूना बनाउन उनको ठूलो योगदान रहेको छ । आज उनको त्यो अभियानले भारतमा वैधानिक मान्यता पाएको छ र अबका नागरिक यसअघि सडकमा ओर्लिएर भ्रष्टाचारको विरोध गरेजस्तै सोही भ्रष्टाचार बढार्ने सङ्केत स्वरुप निर्वाचन चिन्ह नै झाडू लिएका उनको त्यो झाडूले नयाँ दिल्लीको भ्रष्टाचार कसरी बढार्ला भनी परिणामको पर्खाइमा बसेका छन् । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]