सिंगापुरको रेष्टुरेन्टमा पुग्नोस्, ड्रोनले ल्याइदिनेछ तपाईंको अर्डर

प्रविधिले विश्वमा के के चमत्कार गरिसके सुन्दा र पढ्दा रोमाञ्चक हुनजान्छ । हो, यस्तै भएको छ सिंगापुरको एउटा टुरेन्टमा । केही समय अघि जपानमा रेष्टुरेन्टको वेटर सबै रोबोट भएको न्यूज आएको थियो अहिले सिंगापुरको एउटा क्याफेमा ड्रोन अर्थात् मानवरहित साना विमानहरुले ग्राहकहरुलाई उनीहरुको अर्डर अनुसार सर्भ गर्दछन् । टिम्बरे सबस्टेशन नामक यस क्याफेमा पुगने जो कोही अचम्मित बन्दछ । सिंगापुरको पहिलो यसखालको रेष्टुरेन्टमा ड्रोन वेटर सप्लाई गर्ने कम्पनी ईन्फीनियम रोबोटिक्सका अनुसार यिनमा सेन्सर लगाइएको हुन्छ जसले गर्दा यिनले वेटरकै जस्तो काम गर्दछन् । साथै, यिनमा क्यामेरा पनि जडान गरिएको हुन्छ । किचनदेखि टेबलसम्म सर्भ गर्ने बेलामा उनीहरु एक आपसमा ठोक्किँदैनन् । यदि बीचमा कोही उभिएको छ भने पनि सेन्सरका सहायताले त्यसलाई पहिचान गरी छलेर टेबलसम्म पुग्दछन् । यिनले २ किलोसम्मको तौल उठाउन सक्छन् । कम्प्युटर प्रोग्रामिंगबाट किचनदेखि प्रत्येक टेबलसम्मको दूरी पहिले नै सेट गरिएको छ । र, जति नम्बरको टेबलको संकेत दियो त्यही अनुसार अर्डर सर्भ गर्ने काम यिनको हो । सिंगापुरमा रेष्टुरैन्टमा काम गर्ने जनशक्तिको कमी भइरहेको बेलामा यसको प्रयोग अब अझ बढ्ने अपेक्षा कम्पनीले गरेको छ ।