अब भिक्टोरियामा घर बाहिर हिंड्दा मास्क लगाउन नपर्ने, के के हट्दैछ भोलिबाट ?

मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले सोमबारबाट घर बाहिर निस्किदा मास्क लगाउन नपर्ने बताएका छन् । यद्यपि आफुसँग मास्क भने बोक्न उनले सुझाव दिएका छन् । उनका अनुसार घर बाहिर मास्क अनिवार्य छैन । तर, यदि भीडमा गईन्छ भने या अरु मानिसहरुसँग डेढ मिटरको दूरी कायम गर्न समस्या हुने अवस्थामा मास्क लगाउनुपर्नेछ । उनले भने, “कोरोना भाईरस नियन्त्रण गर्न मास्कले महत्वपूर्ण भूमिका खेलेको छ । ईन्डोरमा मास्क अनिवार्य हुनेछ । तर, बाहिर भने लगाउन अनिवार्य हुने छैन ।”

उनले उदाहरण दिँदै कुनै सपिंग सेन्टरमा जाँदा भित्र मास्क लगाउने तर बाहिर निस्किएर कार पार्कमा आउँदा लगाउन नपर्ने बताएका छन् ।

यस्तै आज मध्यरातबाट घरमा एक दिनमा १५ जनासम्म मानिसहरुले भ्रमण गर्न स्वीकृत गरिएको छ । यो संख्या आगामी डिसेम्बर १३ देखि दोब्बर बनाइनेछ ।

प्रिमियर डेनियल एन्ड्रयूको भनाई यस्तो छ –

Danel-Andrews

के के हुन्छ भोलिबाट ?

भोलिबाट अब आउटडोरमा मास्क लगाउन अनिवार्य हुने छैन । तर, सामाजिक दूरी कायम गर्न नसकिने अवस्थामा भने लगाउनुपर्नेछ । ईन्डोरमा जस्तै किनमेल गर्दा वा सार्वजनिक यातायात साधनमा अनिवार्य रुपमा लगाउनुपर्ने भएकोले आफ्नो साथमा मास्क राख्नु भने अनिवार्य हुनेछ ।
यस्तै भिक्टोयिनहरुले घरमा हरेक दिन १५ जनासम्म अतिथिहरुलाई बोलाउन सक्नेछन् भने आउटडोर सार्वजनिक स्थलमा ५० जनासम्म भेला हुन सक्नेछन् । यसमा एक वर्षभन्दा कम उमेरका बालबालिका समावेश हुने छैनन् ।

उच्च शिक्षा प्रदायकहरुले क्याम्पसहरु कोभिड सेफ योजना अन्तर्गत खोल्न सक्नेछन् । हस्पिटालिटी भेन्यूहरुले ३ सय जनासम्मलाई स्वागत गर्न सक्नेछन् भने ईन्डोरमा १ सय ५० जना सम्म ग्राहकलाई सेवा दिन सक्नेछन् । यस्तै २० जनाको समूह बनाएर बाहिर जान सकिने भएको छ । साना ठाउँहरुमा ईन्डोरमा ५० जनासम्मलाई स्वागत गर्न सकिनेछ जसमा २ वर्गमिटरको नियम लागू हुनेछ । यही नियम अन्तर्गत फुड कोर्टहरुले सिट क्षमताको ५० प्रतिशत ग्राहकलाई सेवा दिन सक्नेछन् भने आउटडोरमा ५० जनासम्मलाई सेवा दिने प्रावधान ल्याइएको छ ।

ईन्डोर धार्मिक भेलामा १ सय ५० जनासम्मको संख्या तोकिएको छ भने २० जनाको समूह बनाएर प्रत्येकलाई ४ वर्गमिटरको नियम लागू गर्नुपर्नेछ । आउटडोर धार्मिक भेलामा ३ सय जना सम्म सहभागी हुन पाउनेछन् भेन २० जनाको समूह बनाएर प्रत्येकलाई ४ वर्गमिटरको नियम लागू गर्नुपर्नेछ ।

विवाह र मृत्युसंस्कारमा १ सय ५० जनासम्म सहभागी हुन सक्नेछन् । यदि यी कार्य घरमै गरिन लागेको हो भने १५ जनासम्मको नियम लागू हुनेछ । ईन्डोर खेलकुद गतिविधि र कक्षा सञ्चालनमा मा १ सय ५० जना कूलमा र २० प्रति कक्षा नियम लागू हुनेछ ।

आउटडोर खेल गतिविधिमा ५ सय जनासम्म ५० जनाको एक समूहमा स्वीकृत गरिएको छ । यस्तै स्वमिंग पुलमा १ सय ५० जना ईन्डोरमा र ३ सय जना आउटडोरमा एकै पटक सहभागी हुन सक्नेछन् । स्केटपार्क, प्ले सेन्टर लगायतमा १ सय ५० जना इृन्डोरको नियम लागू हुनेछ भने २० जनाको समूह बनाउनुपर्नेछ ।

लाईब्रेरी तथा कम्युनिटी सेन्टरहरुमा १ सय ५० जना ईन्डोर र ३ सय जना आउटडोरको नियम लागू हुनेछ ।

व्यूटी पार्लर जाँदा, फेसियल, वाक्सींग तथा दारी काट्दा फेस मास्क लगाउनुपर्ने बाध्यता हुने छैन । होलिडेको सिजन सुरु हुँदै गर्दा थप प्रतिबन्ध खुकुलो बनाउने योजना छ । भिक्टोरियनहरुले अब १५ जनासम्मको समूहमा होलिडे बुक गर्न सक्नेछन् । सिनेमा हलहरुमा १ सय ५० जना प्रति हल तोकिएको छ । ठूला सार्वजनिक स्थल जस्तै नेशनल ग्लारीमा क्षमताको २५ प्रतिशत मानिसहरुलाई प्रवेश दिन सकिनेछ । आउटडोरका मनोरञ्जन स्थलहरु क्षमताको ५० प्रतिशत वा अधिकतम ५ सय जनासम्म भेला हुन सक्नेछन् ।

फन पार्कहरु, गेम सेन्टरहरु तथा विंगोमा २० जनाको समूह बनाएर १ सय जनासम्म सहभागी हुन सक्छन् । रियल स्टेटको लीलामीमा ईन्डोरमा २० जना र आउटडोरमा ५० जनासम्म सहभागी बन्न सक्नेछन् । केयर होमहरुमा रहेका आफन्तलाई दुई घरबाट अधिकतम ५ जनासम्म समयको कुनै पावन्दी नलगाईकन भेट्न जान पाउनेछन् भने केयर होममा रहेकाहरु पनि यी व्यक्तिहरुसँग बाहिर हिंडडुल गर्न सक्नेछन् ।

भिक्टोरियन प्रिमियर डेनियल एन्ड्रयूले भने, “राज्यमा लगाइएका प्रतिबन्ध विस्तारै अर्को महिना थप खुल्नेछन् र क्रिसमसमा अझ अघि बढ्ने हाम्रो योजना छ ।” नोभेम्बर ३० बाट कार्यालयका २५ प्रतिशत कर्मचारी काममा फर्कन सक्नेछन् भने बाँकी ७५ प्रतिशतले भने घरबाट नै काम गर्नुपर्नेछ ।