नेकपा फुट्नबाट जोगाउने २ उपाय !

काठमाडौँ । एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ । अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ । बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन् । यस सन्दर्भमा ती मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ–

उपाय १ जम्मा २ अध्यक्ष, बाँकी सबै भताभुंग
सचिवालय भंग गर्ने महासचिवको प्रस्तावसँगै नेताहरू यसको बहसमा उत्रिएका छन् । ‘सचिवालय मात्र होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी पनि भंग गरौं । दुई अध्यक्षलाई मिलेर चल्ने वातावरण दिऔं । र, चाँडोभन्दा चाँडो महाधिवेशनमा गएर नेतृत्व र सबै संरचना बनाऔं ।’

महासचिव पौडेलले भनेझैं सचिवालय झगडाको मुख्य थलो हो । तर, नेकपाको लफडा पछिल्लो समय अल्पमतरबहुमत केन्द्रित छ। जुनसुकै कमिटीमा पनि यो रोग छिर्दैन भन्न सकिन्न । हुन पनि नेकपा पहिलाको संसद्जस्तै बन्न पुगेको छ । त्यतिबेला गठबन्धन मिलाएर सरकार बनाइन्थ्यो । चलुन्जेल चलाइन्थ्यो । नत्र ढल्थ्यो । सांसद किनिन्थ्यो । पार्टी फुटाइन्थ्यो । सकेको हथकन्डा अपनाएर अर्को सरकार बनाइन्थ्यो । त्यसको भविष्य गन्ती त्यही दिन सुरु हुन्थ्यो । नेकपा अहिले ठ्याक्कै त्यही हालतमा छ । यसमा कहिले कता अल्पमत, कहिले कता बहुमतको गणित चल्न थाल्यो। आफूलाई दर्बिलो बनाइराख्न सादा कागजमा हस्ताक्षर गराएर कायल बनाउनेदेखि आफैंले टिकट दिएर बनाएका सांसद किन्नेसम्मको अवस्था आइसक्यो । यसभन्दा दुर्गन्धित रूप के हुन्छ ?

एमाले र एमाओवादी एकीकरणका क्रममा एकताको महाधिवेशन पहिलासम्मलाई दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन गर्ने निर्णय भएको थियो । यस आधारमा हेर्दा अन्य कमिटीका गन्थन–मन्थन, बहुमतरअल्पमतका कुरा बरालिने विषय मात्र हुन् । पार्टीभित्रै पार्टी छन्, तिनका पनि गुट–उपगुट छन् । तिनमा अनेक आकांक्षा, तृष्णा र भोक छन् । तिनको व्यवस्थापनका नाममा कहिले कता पल्ला भारी हुने गरेको छ, कहिले कता । यो रोगबाट मुक्तिको उपाय नै दुई अध्यक्षले मिलेर पार्टी चलाउने, बाँकी विघटन गर्ने हो। समाधान चाहने नेताहरूको राय यही छ ।

उपाय २ सम्पूर्ण भंग, महाधिवेशन समिति निर्माण
दुई अध्यक्ष मिलेर पार्टी चलाउन नसक्ने हो भने दोस्रो उपाय अपनाउन सकिन्छ– सबै भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने । त्यसमा एकता महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्न नचाहने (वर्तमान दुई अध्यक्षबाहेक) शीर्ष नेतालाई संयोजक बनाउने । उदाहरणका लागि झलनाथ खनाल हुन सक्छन् । उनी पुनः अध्यक्ष बन्ने चाहनामा देखिँदैनन्। उनको खास गुट पनि छैन । यो उदाहरण मात्र हो, अरू जो कोही हुन सक्छन् ।

झन्डै दुई तिहाइ बहुमतप्राप्त नेकपा झगडाकै कारण फुट्न मात्र लागेको छैन, जनमतसमेत गुमाउँदै गएको छ । यो परिस्थितिामा अघि बढ्ने दुई बाटा छन्– १. ध्वंसात्मक अर्थात् एक पक्षले अर्कालाई गालीगलौज गर्ने । यसरी नै चलिरहने, नचलेको दिन पार्टी फुटाउने । २. रचनात्मक अर्थात् खिया लागेका नट–बल्टु सफा गर्ने, एकता झन् कसिलो बनाउने आजको अन्नपूर्ण पोष्टले लेखेको छ । सत्तारूढ दलले सोच्ने विषय यो छ कि– कम्युनिस्ट फुटोस् र घ्वाप्प खान पाइन्छ भन्दै धुप हालेर बस्ने धेरै छन् । तिनैलाई उनीहरूले मलजल पु¥याइरहेका छन्। दलभित्रका छिद्र पुर्दै जानुपर्नेमा, थप्दै लगेका छन् ।

एकताका यतिका दिनसम्म आइपुग्दा गल्ती दुवै नेताबाट भए होलान् । अहम् दुवैमै होलान् । तर, दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण गल्ती थिएन । गल्ती त फेरि फुटाउँदा हुनेछ। दुवैले अलिकति अहम् त्याग्दा वा फराकिलो छाती बनाउँदा नेकपा जीवित रहन सक्छ। त्यसका लागि उत्तम समाधान माथिका ‘दुई उपाय’ हुन सक्छन् कि ?