छठको अवसरमा अष्ट्रेलियाबाट ‘सूर्य चन्द्र अंकित मेरो देश’ सार्वजनिक ! (भिडियोसहित)

मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत कार्यालयले १२ औं वार्षिकोत्सव र छठ पर्वको अवसरमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ । गीतमा पत्रकार एवं साहित्यकार निरु त्रिपाठीको शब्द, बरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा नेपाल आइडल सिजन–२ की प्रतियोगी तथा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ । जीवन रसाइलीको निर्देशनमा बनेको भिडियोको छायाँकन मेलवर्नमै गरिएको हो । गीतमा मेलवर्नमै रहँदै आएका नव कलाकार समृद्धि (शाम) हाडा, राहुल गजमेरलगायतले अभिनय गरेका छन् ।

उक्त कार्यक्रममा महावाणिज्यदूत चन्द्र योन्जनले कार्यालयले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धन गरिरहँदा अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै देशभक्ती गीतको भिडियो सार्वजनिक गरिएको बताए । उनले कार्यलयले हरेक वर्ष नेपालको पर्यटन प्रर्वद्धन गर्दै आएपनि यसपाली कोरोनाको महामारीले त्यो संम्भव नभएपछि संगीतबाट भएपनि देशको प्रर्वद्धन गरौँ भनेर म्युजिक भिडियो निकालेको बताए ।

“आखिर हामी संसारमा जहाँ जसरी रहेपनि मातृभुमीको माया र महत्व सधै विषेश रहने” उनले बताए । महावाणिज्यदूत कार्यालयको जनसम्पर्क अधिकृत गीतकार त्रिपाठीको यो दोस्रो गीत हो । विदेशमा बसिरहँदा पनि स्वादेशलाई महसुस गरेर देशभक्तिले उत्प्रेरित राष्ट्रिय गीत लेख्दा मनमा आनन्द लाग्ने उनले बताइन् ।