मेलबर्नमा डिसेम्बर ७ बाट अन्तर्राष्ट्रिय यात्रीहरुलाई आउन दिइने !

मेलबर्न, अष्ट्रेलिया ।

कोरोना भाईरसका कारण बन्द रहेको मेलबर्नको अन्तर्राष्ट्रिय उडान आगामी डिसेम्बर ७ तारिखबाट खुल्ने भएको छ । होटल क्वारेन्टीनबाट कोरोना भाईरस मेलबर्नमा फैलिएपछि मेलबर्नबाट विदेश जाने विमान सेवा सुचारु भएपनि करिब ४ महिनादेखि विदेशबाट मेलबर्न आउन रोक लगाइएको थियो ।

२१ दिनदेखि कोरोना संक्रमण शून्यको सफलता प्राप्त भएपछि गएको जुलाईबाट बन्द गरिएको अन्तर्राष्ट्रिय यात्रीको आगमनलाई खुला गर्न २३ नोभेम्बरको समय तोकिएको भएपनि भिक्टोरिया राज्य सरकारले अझै दुई साता थप गरेर डिसेम्बर ६ सम्म बढाएको छ । सुरुवातमा दैनिक १ सय ६० यात्रीलाई मात्रै आउन दिने गरी कोटा तोकिएको छ । पछि परिस्थितिको विश्लेषण पछि यो संख्या बढाउन सकिनेछ ।

अबको होटल क्वारेन्टीनमा काम गर्नेहरुको विषयमा पूरै अनुसन्धान हुने भएको छ । उदाहरणको लागि होटल क्वारेन्टीनमा क्लीनरको रुपमा काम गर्ने व्यक्तिले मात्र होइन उसको परिवारकै मानिसरुले पनि एज्ड केयरमा काम गर्न पाउने छैनन् । होटल क्वारेन्टीन सम्बन्धी थप प्रावधानहरु छिट्टै सार्वजनिक गर्ने सरकारी तयारी छ । यसअघि होटल क्वारेन्टीनका साथै होम क्वारेन्टीनमा समेत बस्न पाउने गरी अन्तर्राष्ट्रि यात्रीको आगमनलाई खोल्ने तयारी भएको थियो ।