साउथ अष्ट्रेलियाको कडा लकडाउन अन्त्य, भाईरस संक्रमितले झुठो बोलेको पुष्टि

एडिलेड, अष्ट्रेलिया ।

साउथ अष्ट्रेलियामा दुई दिनअघि लगाइएको कडा लकडाउन तत्कालैबाट अन्त्य भएको छ । अन्य प्रतिबन्धहरुलाई शनिबारदेखि हटाउने तयारी राज्य सरकारले गरेको छ । नयाँ नियम अनुसार अब सर्वसाधारण घर बाहिर निस्किन पाउनेछन् । प्रिमियर स्टेभन मार्सलले कडा लकडाउनको बेला सर्वसाधरणले दिएको साथका लागि धन्यवाद दिएका छन । वास्तवमा यो लकडाउनको कारक बनेको उडभिल पिज्जा बारमा ग्राहकको रुपमा पिज्जा खाँदा कोरोना सरेको भनी ढाँटेका व्यक्ति त्यहाँको कामदार भएको खुलेपछि लकडाउन हटाउने निर्णय भएको हो ।

विदेशबाट आउने यात्रीहरुलाई क्वारेन्टीनमा राखिएको स्टामफोर्ड मेडिहोटलमा काम गर्ने निज व्यक्तिले पिज्जा सेन्टरमा पनि काम गर्ने गरेको खुलेको हो । यससँग होटल क्वारेन्टीन र पिज्जा सेन्टरबाट फैलिएका कोरोना संक्रमित सम्पर्कमा आइसकेका छन् र उनीहरुलाई क्वारेन्टीनमा राखिएका कारण या निर्णय लिइएको हो । यद्यपि साउथ अष्ट्रेलियाका चिफ हेल्थ अफिसर प्रोफेसर निकोला सुपरिअरले कन्ट्याक ट्रेसिंगको काम चलिरहेको बताए ।

शनिबार मध्यरातबाट अब घर बाहिर ५० जनासम्म भेला हुन पाउनेछन् भने निजी घरमा १० जनासम्म भेला हुन सक्नेछन् । पबहरुमा सय जनासम्म जान पाउनेछन् भने एक जनालाई चार वर्गमिटरको क्षेत्रफलका आधारमा खुल्ला गरिने भएको हो । व्यक्तिगत स्याहार गर्ने मानिसहरुले मास्क लगाउन अनिवार्य गरिएको छ । शनिबारबाटै जीमहरु पनि खुल्नेछन् ।

गत बुधबारदेखि राज्य नै ठप्प हुने गरी बन्द भएको यो लकडाउन एक व्यक्तिको झुठोका कारण भएपनि निजलाई कारवाही गर्ने कानून भने छैन । उता विजनेस साउथ अष्ट्रेलियाका कार्यकारी मार्टिन हसेले तीन दिनको बन्दले लाखौं डलर क्षति पुगेको प्रतिक्रिया दिएका छन् ।