जापानी युवतीको हातमा मोबाइल हरदम, दिनमा ७ घण्टा मोबाइलमा चल्नु सामान्य

जापानमा हालै गरिएको एक नयाँ सर्वेक्षणमा उच्च माध्यमिक तहमा अध्ययन गर्ने युवतीहरुले एक दिनमा ७ घन्टासम्म मोबाइल प्रयोग गर्ने गरेका पाइएको छ । ती युवतीमध्ये करिब १० प्रतिशतले त दिनमै १५ घन्टासम्म पनि मोबाइल चलाउने गरेको सो सर्वेक्षणले देखाएको छ । प्रायः २० वर्षभन्दा कम उमेरका ती युवतीले भन्दा युवाहरुले कमैमात्र समय खर्चिने गरेका छन् । उनीहरुले भने दिनमा चार घन्टामात्र मोबाइल चलाउने गरेका पाइएको हो ।सूचना सुरक्षा नामक एक व्यावसायिक संस्थाले गरेको उक्त सर्वेक्षणमा पाइएको सो अवस्थाबारेको तथ्य सोमबार सार्वजनिक गरिएको हो । ती युवायुवतीहरुले सामाजिक सञ्जालमा आफ्नो मोबाइल फोनको प्रायोग बढी मात्रामा गर्ने गरेको पनि बताइएको छ । जापानी तथा चिनियाँ युवायुवतीले पछिल्लो समयमा निकै धेरै मात्रामा मोबाइल फोनको प्रयोग गर्ने गरेको र यसका कारण उनीहरुमा इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोगमा दुव्र्यसन बढेको भन्ने बारेका समाचारहरु आइरहेका बेला यो तथ्य बाहिर आएको छ । जापानी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ९६ प्रतिशत युवायुवतीले मोबाइल फोनको प्रायोग गर्ने गरेका जनाइएको छ । त्यसैगरी निम्न माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले भने ६० प्रतिशतले मात्र यो फोन प्रयोग गर्ने गरेका बताइएको छ । दश वर्षको उमेरबाट नै जापानी बालबालिकाले मोबाइल फोन प्रयोग गर्ने गरेका बताइएको छ । सो उमेरका चारमा एकजना बालिबालिकाले यो फोन प्रयोग गर्ने गर्छन् ।