तिहार अघि निभेको एउटा दियो…!

२०२० साल, नोभेम्बर महिनाको १३ तारिख, शुक्रबार । हाम्रो परिवारको लागी एउटा कालो दिन, जुनदिन म धेरै रोए, रुदाँरुदा यसै निदाए ।

अस्ति भर्खरैमात्रै हो दिदिले, “सानु फुपु त ग्राण्डी भर्न भाको छ नी निमोनिया भएर, था पाईस ?” भनेर भन्नु भाको । मैले नी “ए होर” मात्र भने । किनकी मलाई उहाँ चाडै निको भैहाल्नु हुन्छ भन्ने पुरा बिश्वास थियो र सायद सबैलाई यस्तै लागेको थियो । त्यसपछि अस्ति फेरी सोधे–कस्तो छ फुपुलाई ?यो पाली दिदिले अलि गम्भीर भएर, “खै के हो के, फुपुलाई त गाह्रो छ भन्छ” भन्नु भो । त्यसपछि चाही मन अलि चिसो भो । यत्रो दिन भेन्टिलेटरमा राखेर उपचार गर्दापनि किन बिसको उँन्नाईस नभाको होला ? अलि चिन्ता लाग्यो तर धेरै केही सोचिन ।

हिजो बिहान एक्कासी दिदिको म्यासेज देखे–सानु ओई, फुपु त छैन रे बइ । म खङग्रङ्ग भए । घरमा एक्लै थ,े एक्लै रोएर बसे । मनै भासीयो । खान बनाईवरी काम जाने तरखर गर्दै थे, जाँगर नै चलेन । के गर्नु अर्काको ठाउँ, मन नलागी नलागी काममा गए । बेलुका फर्किदा साँझ परिसकेको थियो । ट्रेनबाट र्ओलेर जब घर आउदैथे, बाटोको छेउछाईका घरका युनिटहरुमा झिलिमिली बत्ती बलेको देखे । लाग्यो – ओहो ! तिहार आईसकेछ । फेरी सोचे, हाम्रो त यो पाली मनकै दियो निभ्यो, हाम्लाई के को तिहार । बिदेश भएपनि नेपालीको बाक्लो उपस्थिती भएर होला चारैतिर झिलीमिली थियो, यता मेरो मन भने निकै अध्यारो ।

उहाँले त छाडेर जानु भयो नै, एउटा कुराले भने, धेरैबेरसम्म मन पिरलीरह्यो । आफु बिदेश आएकोमा आफैलाई पछुतो लाग्यो । यति टाढा छु, चाहदामै, मन लाग्दामै म घर जान सक्दिन । हिडेर जान्छु भनेर पुगिदैन । कति जनालाई यसरी नै देख्नै नपाई, अन्तिमपल्ट भेट्नै नपाई गुमाउनुपर्ने हो, मन यसै यसै चिसो भैरह्यो । आउदा हत्तार गरेर आईयो, कति जनालाई भेट्न त के जान्छु है सम्म भन्न भ्याईएन । त्यसैले मन पोलीरह्यो । फुपुसँगको भेटपनि त्यस्तै भयो ।

हामी टोखा नजिक बस्ने, फुपुहरु त्यही तल ग्राण्डी नजिक मिलनटोल बस्नु हुन्थ्यो । म यता आउने दिन, फोन गर्दा, “आईजान त, तल एकचोटी, की बाटोसम आउ खाँदा ओढाउन” भन्नु भाथ्यो। म आफैले “भयो फुपु अर्कोपाली आउदाँ, अहिले ढिला भो” भनेको थे । फुपुसँग भेट्ने त्यो अर्कोपाली कहिल्यै आउदैन रैछ भन्ने कुरा मलाई के था । जहिल्यैको हसिलो, रसिलो अनि मिजासिलो मान्छे । जीन्दगीमा मैले उहाँलाई कहिल्यै रिसाएको, निरास भएको वा त बिरामी भएको भन्ने न त कहिल्यै सुने न त कहिल्यै देखे । सबैसँग उत्तिकै मिल्ने, हामी भदैनीहरुलाई जिस्काईरहने । हामी गुरुङ्गहरुको फुपु मामाका छोराछोरीलाई सोल्टासोल्टीनी पर्छ । बिहेवरीसमेत चल्नेहुदाँ, भेट हुँदाताका नमस्ते गर्दा, “सासु हो ढोग” भन्दै जिस्काउनुहुन्थ्यो । अस्ति भर्खर मात्रै हो बहिनीले, भिडियो कलमा, “ल हेर, तेरो फुपुहरुको चाल” भन्दै देखाको । सबजना मिलेर तास खेल्दै रमाईलो गर्दैथे ।

चाडबाड आउन हुन्न हामीसब जम्मा भएर रमाईलो गरीहाल्थेम, अझ लोसारमा त ठुलो बस नै रिर्जभ गरेर टुडिखेल जान्थेम । टोलकै पुरानो बासिन्दा, सबैको प्यारो “सानु फुपु” अब हामीमाझ त्यसरी कहिल्यै बोल्नु, हास्नु हुन्न भन्ने सायद कसैले पत्याएका छैनन होला । मृत्यु सबैको निश्चित कुरा हो यसमा दुईमत छैन तर यस्ता मृत्युहरु भने साँच्ची नै पिडादायक हुने रैछ जुन अप्रत्यासीतरुपमा हुन्छ । जसले हर्हराउदो भर्भराउदो उमेरमै संसार छोड्नु पर्नेहुन्छ । छाडेर जानेले त छाडेर गए, बढी पिडा त सम्झनामा बाच्नेहरुलाई भयो । कसले कल्पना गरेको थियो होला र, हिड्दै हस्पिटल गएको मान्छे, कहिल्यै घर फर्केर आउनुहुन्न भनेर । जिन्दगीको अन्तिम पलहरु उहालाई कत्ति गाह्रो भो होला म सोच्न सक्दिन् । हस्पिटलको झ्यालैबाट देखिने त्यो आफ्नो मिहिनेत पसिनाले बनाएको घर, आफु बसेको टोल, छरछिमेक अनि भेन्टिलेटरमा रहदाँ भेट्न नपाएका परिवार र आफन्तहरु सम्झेर कत्ति भक्कानिनु भो होला । पुसै र बहिनीमाथी अहिले के बितिराको होला त्यो त झन म कल्पनासम्म गर्न सक्दिन ।
गत अक्टोबरले अस्ट्रेलिया आएकोपनि एक बर्ष पुरा भयो । यो गदार्, त्यो गर्दा, यता मिलाउदा उता मिलाउदै कत्ति चाँडो बितेछ दिनहरु पत्तै पाईएन । परिवार, साथीभाईहरुसगँ फोन भिडियो कल भैरहने भएर होला, खासै टाढा छु जस्तो लागेन । यता पनि आफ्ना सोचेर घरको न्यास्रो मेटाउनेहरु केहीहदसम्म भेटेको थे । काम कलेज सबै राम्रै चल्दै थियो । बेला मौकामा साथीभाईसँगको भेटघाट अनि रमाईलो पनि थिदैथियो । बास्तवमै भन्नुपर्दा यत्रो एकबर्षमा कहिल्यै पनि एकदमै नेपाल जाउ जाउ जस्तो, घरको यादले बेस्सरी सताएजस्तो अनुभव भएन –सायद यताको ब्यस्ता जिन्दगीले पनि होला अनि सानैदेखी घर छोडेर होस्टेल बसेको भएर नी होला । तर एकदुई दिन यस्ता आए, जुनदिन मलाई आफु घरबाट टाढामात्र होईन धेरै टाढा छु भन्ने महसुस भयो । चाहेर पनि म फुत्त गैहल्न सक्दीन भन्ने कुराले धेरैबेर मन कुडिरह्यो । यस्तै पहिलो दिन– अस्तिन बजै (बाबाको फुपु) बित्दा ।
बजैसँग म एकदम नजिक थिए । मेरो काठमाडौ आएदेखीको साथी उहाँ । म कम बोल्ने, सहरमा नयाँ थिए । कतिकुरा यहाँको नबुझिने, मन नपर्ने । गाउँको कुरा गर्ने, कुरा मिल्ने भनेकै बजैसगँ हुन्थ्यो । म उहाँको माईतीतिरको, त्यसैले पनि होला धेरै माया गर्नुहुन्थ्यो । नब्बे सालको भुकम्पदेखी जमनाका गाउँघरको कुराहरु सुनाउनुहुन्थ्यो । म भने, कथाझै चाख मानेर सुन्थे । त्या त्यसको घर थियो, त्या खै के को हो रुख थियो । टाउका नभाका मुर्कुटाहरु घोडा चडेर हिड्थे–यस्ता कथाजस्ता लाग्ने के के कुराहरु सुनाउनु हुन्थ्यो । उहाँले सबकुरा यति प्रस्टसँग सुनाउनुहुन्थ्यो की, यो ८०–९० बर्षको उमेरमा पनि कसरी सबकुरा ठयाक्कै याद भएको होला? म छक्क पर्थे ।

बजैका दुईजना भदैहरु–बा अनि ठुल्बा । दुबैलाई एकदम माया गर्ने । उहा बेला बेला बाहरुका बाल्यकालका कथाहरु पनि सुनाउनुहुन्थ्यो । बाको बा (हजुरबा)३२ बर्षको कलिलो उमेरमै बित्नुभाको रे । पछि हजुर आमाले पनि छोडर जानुभएछ । अनि बा र ठुल्बालाई उहाहरुको हजुरआमा (जो आफैमा दृस्टिविहिन हुनुहुन्थ्यो) उँहाले हुर्काउनु भाको रे । त्यस्तो दुःखमा बाहरु कसरी हुर्किनुभो मलाई थाह छैन र आजसम्म कहिल्यै सोध्ने आट पनि गरेको छैन । बजै यस्ता धेरै कुरा सुनाउनुहुन्थ्यो र सुन्न बाकीकुरा अझैधेरै थियो । तर एक्कासी उँहा पनि भगवानको प्यारो हुनुभयो । पछिल्लो समय उँहालाई नभेटेकोमा मलाई खल्लो लाईरह्यो । कहिलेकाही भेट्न जादा, “फोन त गर्नसक्छ, भेट्न नआएनी” भन्दै गुनासो गर्नुहुन्थ्यो । बजैलाई धेरै सम्झना अनि चिरशान्तिको कामना ।

यस्तै अर्को दिन– दशैअघि बा बिरामी हुँदा कोरोनाको बिगबिगी गाउघरसम्म फैलिसकेको थियो । दिनहु केस बढीरहेको खबर सुनिन्थ्यो । त्यहीबेला दाई बिदेश जानुपर्ने भो र बहिनी काठमाडौबाट घर आई । त्यसको केहीदिनमै बा एक्कासी नराम्ररी बिरामी पर्नुभो । १०२–१०३ सम्मको ज्वरोले बा गल्नु भो । कतै कोरोना त होईन ?सब जना आतियौ । मनमा शंका पस्यो । गाउको घर–बल्लतल्ल अस्तिभर्खर कच्चीबाटो पुग्या छ, त्या पि सि र गर्न को पुग्ने ? का लगेर जचाउने, बोकेर लैजाने मान्छेसम्म गाँउमा कोही थेन ।

एक घण्टामाथी बजारमा एकजना डाक्टर हुनुहुन्थ्यो । उहाँलाई फोन गरेर बोलाउदा, उहाँ आफै बिरामी भएकोले आउन नसक्ने खबर सुनाउनु भएछ । त्यसपछि हामी झन अतालियौ । बालाई निकै गाह्रो भको छ भन्ने सुनियो । पछिफेरी ती डाक्टरलाई एकचोटी जसरीभएनी आइएदिनुपर्यो भन्दा, “आदीबाटो सम्म आउछु, आधीसम्म पठाईदिनु”भन्नुभएछ । अनि बा सकीनसकी लौरो टेक्दै आधिबाटो सम्म जानुभएछ । त्यो दिन आफैलाई एकदम नरमाईलो लाग्यो । छोराछोरी भएर के गर्नु चाहिएको बेला नभएसी, अनि बिदेश छ भनेर के गर्वगर्नु लरबराउदाँ समाउने हात नै नभएसी । धन्न ! उहाँ डाक्टर, भगवान बनेर आउनुभो । बालाई टाईफाईड भएको रहेछ । औषधी खाएको केही दिनमै बिसेक हुनुभो । बल्ल मन ढुक्क भो । आफै बिरामी हुदाँपनि बालाई उपचार गर्न आईदिने ती डाक्टरलाई मनैदेखी प्रणाम ।

र अर्को यस्तै दिन, हिजो फुपु बित्दा लाग्यो । तिहारको मुखैमा दाजुभाईको निधार खाली अनि हामीसबैको मन खाली बनाएर जानु भो । जति चोटी सोच्यो उती चोटी आखाँ रसाउछ । पत्यार नै लाग्दैन । फोटो हेर्छु, भिडियो हेर्छु । अहिल्यै बोलीहाल्नु हुन्छ झै लाग्छ । फुपुलाई हार्दिक श्रद्धान्जली अनि शोकशन्त परिवारजन र आफन्तहरु सबैमा समवेदना । आज त हामीलाई प¥यो, यहाँ हरेकदिन कतिजनाले आफ्ना प्रियजनहरुलाई गुमाईरहेका होलान् । भगवानले ती सबै शोकसन्त परिवारहरुमा सहनसक्ने शक्ति प्रदान गरुन् । यो दिपावलीको दिपले सबैको जिवन उज्यालो बनाईराखुन् । सबैलाई शुभकामना ।

सिरान्चोक ८, गोरखा, हालः सिड्नी अष्ट्रेलीया