तीनजनाले आक्रमण गरे एक निहत्था नेपालीलाई, सिड्नीमा साँझ गाडी चलाउँदा सतर्क हुनुस्


Carघटना एक साताअघिको हो २४ जनवरी शनिबार । स्थान, रकडेल, च्यापल रोड । दुई नेपाली युवाहरु एउटा पारिवारिक जमघटमा सहभागी भएर फर्कदै थिए । उनीहरु पार्किंग गरिएको च्यापल रोडबाट गाडी घुमाउन अघि बढे । तीनजना व्यक्तिहरु उनीहरुको गाडी नजिकै टाँसिउँला जस्तो गरी आए । विस्तारै स्पीड कम गरेर अघि बढ्यो गाडी । तर, जब गाडी घुमाएर त्यहीबाट आए तिनै तीनजना व्यक्तिमध्ये एउटाले गाडीमा केही ढुंगाले हानेको जस्तो भयो । अलि अघि गएर रोकेर गाडी चलाउने विकास (उनकै आग्रहमा नाम परिवर्तन) ओर्लिएर के भएको छ हेर्न गए । तर, यत्तिकैमा ति तीनजना दौडँदै आएर लामो टर्चलाईटले आँखैमा प्रहार गरे । विकास बेहोस भए । उनीसँगै भएका साथीले हेल्प, हेल्प भन्दै कराउन थालेपछि ति आक्रमणकारी फरार भए । यस घटनाको न्यू साउथवेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, कुनै निष्कर्श निकाल्न सकेको छैन । यसपछि बेहोस बनेका विकासलाई अस्पताल लगियो जहाँ उनको अनुहारमा ठूलो चोट लागेको छ र केही हड्डी समेत फुटेका छन् । अब कम्तिमा पनि एक ६ हप्ता उनले आराम गर्नुपर्छ । उनी भन्दैछन्, किन आक्रमण गरे केही थाहा भएन, धन्न आँखा जोगियो ।
हो, यस्ता घटना भइरहेका छन् विभिन्न ठाउँमा । विकासको गल्ती के भयो भने आक्रमणकारीले लुट्नका लागि उनलाई गाडी रोक्न ढुंगा हानेका थिए । र, उनले त्यही गरे । तर, गाडीमा भएको अर्को साथी कराएका कारण लुट्न भने पाएनन । यदि तपाईं गाडी चलाउनुहुन्छ भने कसैले यस्तो गर्न सक्छ । यस्तो बेला तपाईं सतर्क हुनुपर्छ । गाडीबाट ओर्लन हुँदैन, र, तत्कालै प्रहरीलाई खबर गर्नुपर्छ । यस घटनामा विचार गर्नुहोस् त पहिला ति आक्रमणकारीहरुले गाडीमा कतिजना छन्, भनेर हेरेका थिए गाडीको नजिकै आएर । यसपछि योजनाबद्ध रुपमा उनीहरुले आक्रमण गरे । घटना भइसकेपछि पछुताउनुभन्दा घटना अघि नै सतर्क बन्नु उचित हुन्छ । त्यसैले गाडी चलाउँदा जहिल्यै आफ्नो डोर लक गर्ने । कोही नजिकै आएर तपाईंको गतिविधि नियालेको छ भने सतर्क बन्ने । र, केही (अन्डा, ढुंगा या सानोतिनो) ले गाडीमा कसैले हानेको छ भने तत्कालै गाडी रोकेर नहेर्ने । किनकि, उनीहरुले यही खोजेका हुन्छन् । सतर्क बन्नुहोस् र यो आफ्ना साथीभाईलाई पनि शेयर गर्नुहोस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]