अमेरिकी राष्ट्रपति चुनाव : जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिएको छ ।

बुधवार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नेछन्। पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नेछन्, र दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।
गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनारहेका छन् ।

विगतमा रिपब्लीकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ । महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ ।

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनका कार्यशैलीलाई रुचाएका छैनन् ।

अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।