म्याग्दीमा २२ जलविद्युत् आयोजनाबाट ६३१ मेघावाट विद्युत् उत्पादनको तयारी


mygdiम्याग्दी जिल्लाका विभिन्न नदीबाट ६३१ मेघावाट क्षमताको २२ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । म्याग्दीमा रहेको कालीगण्डकी, म्याग्दी, राहुघाट, मिस्त्री, निलगिरी, मुदीलगायत नदीमा आयोजना निर्माण र सर्वेक्षणको काम भइरहेको छ । विद्युत् विकास विभागका अनुसार म्याग्दीमा पाँचवटा आयोजनाले निर्माणका लागि अनुमति पाएका छन् । थप पाँच आयोजनाले सर्वेक्षणको काम पूरा गरी पूर्वाधार निर्माणका लागि अनुमति मागेका छन् । सातवटा आयोजनालाई सर्वेक्षण अनुमति प्रदान गरिएको र पाँचवटा आयोजना सर्वेक्षणका लागि निवेदन परेको विभागले जनाएको छ । म्याग्दीको नारच्याङमा निजी क्षेत्रको रोवस्ट इनर्जीले ४२ मेघावाट क्षमताको मिरिस्टी र घलेम्दी हाइड्रो लिमिटेडले चार मेघावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु गरिसकेका छन् । पिप्ले, झीँ र दग्नाम गाविस क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले ३२ मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणसम्बन्धी काम गरिरहेको छ । म्याग्दी खोलामा २० मेघावाट क्षमताको अपर म्याग्दी र दानामा चार मेघावाटको रुप्से खोला जलविद्युत् आयोजना निर्माणका लागि विभागले अनुमति प्रदान गरे पनि अझै काम सुरु भएको छैन । हाइड्रो इम्पायर कम्पनीले अपर म्याग्दी र रिसर्च एन्ड डेभलपमेन्ट ग्रुपले रुप्सेखोला आयोजना निर्माणको अनुमति पाएका थिए । यसैगरी ट्रेड लिङ्क ग्लोबल प्रालिले अपर कालीगण्डकी (७२ मेघावाट), टुडी पावर कम्पनी लिमिटेडले अपर राहुघाट (४८.५ मेघावाट), नीलगिरि खोला हाइड्रोपावर कम्पनीले नीलगिरि खोला (३८ मेघावाट), धौलागिरि कालिका हाइड्रोपावर प्रालिले दरवाङ म्याग्दी खोला (२५ मेघावाट) र म्याग्दी हाइड्रोपावर प्रालिले घारखोला (८.३०० मेघावाट) क्षमताको आयोजना सर्वेक्षणको काम सकेर पूर्वाधार निर्माणका लागि अनुमति मागेको विभागले जनाएको छ । विभागका अनुसार तिप्ल्याङ कालीगण्डकी (९५ मेघावाट), नीलगिरि खोला दोस्रो (६२ मेघावाट), अपर म्याग्दी पहिलो (८० मेघावाट), मध्य कालीगण्डकी (२५ मेघावाट), रेलेखोला (६ मेघावाट), खोलामखोला (०.८४० मेघावाट) र रितुङ खोला (०.९९० मेघावाट)को सर्वेक्षणका लागि विभिन्न निजी कम्पनीले अनुमति लिएका छन् । मुदीखोला जलविद्युत् आयोजना (२५ मेघावाट), म्याग्दीखोला जलविद्युत् आयोजना (२४.३०० मेघावाट), चिमखोला साना जलविद्युत् आयोजना (९.५०० मेघावाट), ठूलोखोला जलविद्युत् आयोजना (४.९००) मेघावाट र राहुघाट जलविद्युत् आयोजना (३.९६० मेघावाट)को सर्वेक्षणका लागि निवेदन प्राप्त भएको बिभागले जनाएको छ । एक सर्वेक्षणका अनुसार एक हजार २०० मेघावाट विद्युत् उत्पादनको सम्भावना भएको म्याग्दीका आधाभन्दा बढी आयोजना दर्ता भइसकेका छन् । म्याग्दीमा जलविद्युत् विकासको प्रशस्त सम्भावना रहे पनि सर्वेक्षण अनुमति पाएर लामो समयसम्म काम नगर्ने, सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधार निर्माणमा सरकारी निकायले ध्यान नदिनेजस्ता कारणले पछाडि परेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बताउनुभयो । पूर्वाधार तयार गर्न सरकारी निकायले ध्यान दिने, काम नगर्नेको अनुमति खारेज गरेर नयाँलाई अवसर दिन सकेमा म्याग्दीमा जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाउनुका साथै विप्रेषणको उत्पादनमूलक क्षेत्रमा लगानी, रोजगारी सिर्जना एवम् समग्र जिल्लाको विकासले फड्को मार्ने सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]