मेलबर्नका नेपालीको दशैं : घरभित्रै वा दुई परिवारका १० जनासम्म पार्कमा ?

मेलबर्न, भिक्टोरिया ।

आज आईतबार धेरैले कम्तिमा एउटा परिवारसम्म भएपनि अर्को घरमा भ्रमण गर्न पाउनेगरी लकडाउनका नियमहरु खुकुलो बनाउने अपेक्षा गरेका थिए । यसले आउँदै गरेको दशैंमा केही थप खुशी ल्याउने आशा मेलबर्नका नेपालीहरुको थियो । तर, प्रिमियर डेनियल एन्ड्रयूले गरेको घोषणामा घरमा पाहुना आउन नपाउने भएपछि नेपालीहरुको दशैं भर्चुअलमै बित्ने वा दुई परिवारका १० जनासम्म नजिकैको पार्कमा भेला भएर टीका लगाउनुपर्ने भएको छ ।

नयाँ नियम अनुसार २५ किलोमिटरसम्म यात्रा गर्न पाइनेछ भने दुई परिवारका १० जनासम्म भेला हुन पाउने नियम छ । यस्तो भेटका लागि समयावधि तोकिएको छैन । यसअघि २ घण्टासम्म मात्रै दुई परिवारका ५ जना भेट हुने नियम थियो ।

नवरात्र सुरु भएपछि नेप्लीज मल्टिकल्चरल सेन्टर, न्याभ र एनआरएनले भर्चुअल आरति, भर्चुअल सामूहिक पूजाको अभ्यास गरिरहेका छन् । “यस पटकको दशैं पनि मेलबर्नवासीका लागि भर्चुअल नै हुने देख्छु म । तर, दुई परिवार नजिकैको पार्कमा भेला हुन सक्ने कुराले केही खुशी भने थपेको छ ।” न्याभका पूर्वअध्यक्ष तारा गैरेले एमएनटीभीसँग भने “पाकैमै भेट्दा पनि अत्यधिक सावधानी अपनाउन भने भुल्न हुँदैन ।”