कोरोनालाई जित्दै मेलबर्न, आजबाट खुकुलो गरिएका प्रतिबन्धहरु यस्ता छन्

मेलबर्न, अष्ट्रेलिया ।

जनसंख्याको हिसाबले अष्ट्रेलियाको दोश्रो ठूलो राज्य भिक्टोरियाले कोरोना संक्रमणलाई नियन्त्रण गर्ने सफलता पाएको छ । लगातार केही दिनदेखि १० भन्दा कम दैनिक संक्रमण कायम गरेपछि पूर्वनिर्धारित समयमा प्रिमियर डेनियल एन्ड्रयूले केही प्रतिबन्धका प्रावधानहरुलाई खुकुलो बनाउने घोषणा गरेका छन् ।

आज नियमित पत्रकार सम्मेलनमा उपस्थित भएका प्रिमियरले बताए अनुसार आज राति १२ बजेदेखि मेलबर्न महानगरमा रहेकाहरुले कसैलाई बाहिर भेट्न वा व्यायाम गर्नका लागि घर छोड्नका लागि समयावधि तोकिएको छैन । यस्तै आफ्नो घर क्षेत्रबाट ५ वर्गकिलोमिटरको दूरीसम्म मात्र यात्रा गर्न पाउने नियमलाई परिवर्तन गरी २५ किलोमिटर बनाइएको छ । यसअघि पार्कहरुमा वा घरभन्दा बाहिर दुई परिवारका ५ जनासम्म भेला हुन पाइने नियम रहेकोमा यसलाई बढाएर १० बनाइएको छ ।

कपाल काट्ने ठाउँ र व्यूटी पार्लरहरु खुल्न सक्ने भएका छन् । रियल स्टेटको अक्सनमा १० जनासम्म सहभागी हुन पाउने भएका छन् । आउटडोर स्वीमिंग पुलमा ३० जनासम्म सहभागी हुन सक्नेछन् भने ईनडोर स्वीमिंग पुलमा हाईड्रो थेरापीका लागि मात्र स्वीकृति दिइएको छ । घरमा रंग लगायत या मर्मत गर्ने कार्यका लागि अधिकतम ५ जनासम्म कामदारलाई आउन दिइने नियम छ । यस्तै एकजनाले गर्ने वा अटोमेटिक कार वास, पुल क्लीनिंग पनि स्वीकृत गरिएको छ । घर बाहिर गरिने फोटोग्राफी गर्न पाइने भएको छ ।

नोभेम्बर १ तारिखबाट स्थिति यस्तै रहेमा थप खुकुलो बनाउने योजना पनि उनले सार्वजनिक गरेका छन् ।