यी गीतहरू छन् र त दशैँ आएको महशुस हुन्छ हामीलाई

काठमाडाैँ । हिन्दु धर्मावलम्बीहरूको महान चाड दशैँ आजबाट सुरू भएको छ । घरघरमा जमरा राखेर आजबाट दशैँको सुरूवात गर्ने परम्परा धेरै समयअघि देखि नै विद्यमान छ । केही समय पहिले नेपालमा मात्रै मनाइने दशैँ अहिले विदेशमा मनाइन् थालेको छ ।


नेपालीहरू रहेका अमेरिका, अस्ट्रेलिया, जापान लगायत खाडी मुलुकहरूमा समेत नेपाली नेपाली मिलेर दशैँ मनाएका तस्बिरहरू प्रशस्तै देखिन्छन् । यसले दशैँको महत्व विदेशीमा सकेत झल्किन थालेको छ ।

कला र संस्कृतिका धनी नेपालीहरू माझ हरेक चाडपर्वका छुट्टै गीतहरू छन् । दशैँको बेला धेरै कलाकारहरूले गीत निकाल्छन् । देश तथा विदेशमा रहेका सबैलाई गीत मार्फत कलाकारहरूले दशैँ आएको संकेत दिन्छन् । कतिपय गीत यस्तासम्म छन्, ती गीतहरू बजेपछि दशैँ आएको भान हामीलाई हुन्छ । केही दशक अघि बनेको मुग्लान फिल्मको ’दशैँ आयो’ एउटा उदाहरण हो । कयौँ नेपालीलाई यो गीत सुनेपछि दशैँ आएको महशुस हुन्छ ।

भर्खरै फुल्न थालेको कोदो र भित्र्याउन ठिक्क भएको धानलाई समेटेर यो गीतले दशैँलाई वर्णन गरेको छ । अन्य केही गीतहरू छन् जसले हरेक नेपालीलाई दशैँ आएको महशुस गराउँछन् । गीतहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

दशैं आयो

लोकनाथ सापकोटाले लेखेको यो गीत दशैँको कालजयी गीत हो । रेडियो टेलिभिजनमा यो गीत बझेपछि दशैँ नजिकै आइसकेको महशुस हन्छ । उदीत नारायण झा, दीपा नारायण लामा, नारायण लामा तथा जुना प्रसाईंको आवाज रहेको यो गीत ’मुग्लान’ फिल्मको हो ।

सामान्य जीवन चलाउन पनि विेदेश नै जानुपर्ने बाध्यतालाई समेटिएर बनाइएको यो फिल्म तत्कालीन समयको लोकप्रीय फिल्म हो । दशक अघि नै यो फिल्ममा भएको कथाबाट नेपाल अझै माथिउठ्न सकेको छैन ।

दशैँ तिहार

सुगम पोखरेलको दशैँ तिहार बोलको गीत पनि दशैँको लोकप्रीय गीत हो । यो गीत पनि नेपाली दर्शकमाझ लोकप्रीय छ । २ वर्षअघि युट्युबमा अपलोड गरिएको यो गीत दर्शकले करीब १ करोड पटक हेरिसकेका छन् । यो गीतको शब्द रबी श्रेष्ठको रहेको छ भने संगीत सुगम पोखरेलले नै भरेका छन् ।

नमुछे आमा दहीमा टीका

पहिलो पटक २०५५ सालमा रेकर्ड गरिएको यो गीत दँशैको कालजयी गीतमध्ये एक हो । यो गीतले परदेशिएको छोरो दँशै जस्तो महान पर्वमा समेत नेपाल आउन नपाएको पीडादायी क्षणलाई चित्रित गरेको छ । २०५५ सालमा नारायण रायमाझीको स्वरमा यो गीत रेकर्ड गरिएको थियो । २०५८ सालमा यो गीत दोश्रो पटक रेकर्ड भयो । त्यो बेला यो गीत कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रेकर्ड भएको थियो ।

त्यस्तै २०७७ सालमा यो गीतको तेश्रो रेकर्ड भएको छ । तेश्रो पटकको रेकर्ड हुँदा लक्ष्मण रायमाझीको शब्दलाई रचना रिमाल र नारायण रायमाझीले स्वर दिएका छन् ।

दशैं नै हो कि यो मेरो दशा

हरेक मानिसको जीवनमा आर्थिक पाटो सबैभन्दा महत्वपूर्ण हुन्छ । पैसा भए दशैँ, पैसा नभए साँच्चै दशा । धेरैलाई उल्लास ल्याउने दशैँ कतिपयका लागि दशा साबित भएका कतिपय घटनाहरू छन् । गायक योगेश्वर अमात्यको यो गीतले पनि समान आर्थिक अवस्थाका कारण कसैलाई दशैँ दशाका रूपमा आउनसक्ने विषयलाई उठान गरेको छ । सामान्य रूपम जीवन धान्न सकस पर्ने नेपालीहरूका लागि दशैँले ठूलो आर्थिक भार थप्ने काम पनि केही हदसम्म गरेकै छ ।