२५ पटक चक्कु प्रहार गरी निरन्तर बलात्कार र ब्ल्याकमेल गर्ने पुरूषको हत्या

एजेन्सी । भारतको मध्यप्रदेशमा एक जना महिलाले बलात्कार पछि निरन्तर ब्ल्याकमेल गरेको भन्दै एक जनाको हत्या गरेकी छिन् । बलात्कार र उल्टै निरन्तर ब्ल्याकमेल गरेको भन्दै पिडित महिलाले पुरूषको हत्या गरेकी हुन् ।

पुरूषको हत्या गर्नेक्रममा महिलाले उनीमाथि २५ पटक चक्कु प्रहार गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यो घटना भारतको मध्यप्रदेशस्थित गुना शहरमा भएको बताइएको छ।

मृतक पुरूषले ती महिलालाई २००५ देखि बलात्कार गर्दै आएको भारतीय प्रहरीले उल्लेख गरेको छ ।

ती महिलाको चक्कु प्रहारबाट मृत्यु हुने पुरूष अशोकनगर जिल्लाका वृज भूषण शर्मा भएको उल्लेख छ । आरोपी महिला पनि सोही जिल्लाकै हुन् । महिलाको भनाइलाई उद्धृत गर्दै प्रहरीले ती महिलालाई वृज भूषणले १६ वर्षको उमेरदेखि बलात्कार गर्दै आएका थिए । त्यसपछि वृजले महिलाई सँधै त्रासमा राखेर बलात्कार गर्दै आएको खुलेको छ ।

महिलाको विवाह भएर एक जना छोरी भइसक्दा पनि वृज भूषणले उनको पीछा छोडेनन् । घरमा एक्लै भएको बेला महिलाले वृज भूषणलाई घरमा बोलाइन् । रक्सी पिएर आएका वृज भूषण पुनः महिलालाई बलात्कार गर्न चाहन्थे । तर, यो समय आरोपित महिलाको धैर्यताले ठाउँ छोडेपछि चक्कु प्रहारबाट वृज भूषणको मृत्यु भयो ।

प्रहरीले आरोपित महिलालाई पक्राउ गरेको छ । महिलाले पनि वृज भूषणको हत्या गरेको स्वीकारेकी छिन् । अहिले ती महिला प्रहरी हिरासतमा भएको बताइएको छ ।