अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा निर्वाचन हुँदै, आजसम्म उम्मेद्वारी दिने समयसीमा

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली कला, संस्कृतिको प्रबद्र्धन गर्नका निम्ति गठन गरिएको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको नेतृत्व चयनका लागि अनलाईन मार्फत चुनाव हुने भएको छ । आगामी ७ नोभेम्बरका दिन यसका सदस्यहरुले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । यसका लागि निर्वाचन कमिटी निर्माण गरी सदस्यहरुको नामावली प्रकाशित भइसकेको छ भने आज शनिबारभित्र उम्मेद्वारीका लागि आवेदन दिने समय तोकिएको छ । यस्तै प्रकाशित निर्वाचन तालिका अनुसार १९ अक्टोबरमा उम्मेद्वारको सूचि प्रकाशित गरिनेछ भने २० तारिखमा त्यसमा दावी विरोधका लागि समय दिइएको छ । यस्तै २५ तारिखसम्मको समय उम्मेद्वारी फिर्ताका लागि दिइएको छ । यसपछि २७ अक्टोबरमा उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।

यसअघि निर्धारित चुनावी कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । ७ नोभेम्बरमा वार्षिक साधारण सभा गरेर नवनिर्वाीचत नेतृत्वको घोषणा गर्ने तय भएको छ । यस पटक बहुसांस्कृतिक केन्द्रमा यसअघिकै नेतृत्वलाई निरन्तरता दिने या नयाँ नेतृत्व खोज्ने भन्ने चासोको विषय बनेको छ । सन् २०१७ देखि संस्थाको नेतृत्व डा. चन्द्रदिपक पोखरेलले गरिरहनुभएको छ ।

भिक्टोरियामा नेपाली मन्दिर र गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउनका लागि जुटेका नेपालीहरुले यसका लागि गएको जुन महिनामा १५ लाख डलरमा घरसहित १५ एकड जमिन किनिसकेका छन् ।

Click here >>>

चुनावमा मतदान गर्न ९ सय ६८ जना मतदाताको सूचि प्रकाशित गरिएको छ भने दोश्रो सूचिमा सदस्यता भएका तर सम्पर्क ईमेल र फोन नम्बर नभएकाहरुको नामावली पनि प्रकाशित गरिएको छ । उनीहरुलाई यथाशिघ्र सम्पर्क गर्न आग्रह गरिएको छ ।