दाइको हत्या गरी फरार !

सल्यान । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ । थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए । मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताए । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ ।