नेपालमा कोरोना संक्रमण नियन्त्रणमा नआउनुको कारण ?

नेपालमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका छन् । पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित घना वस्ती भएका ठूला शहरहरुमा संक्रमण तीव्र गतिमा फैलिएको छ । गत डिसेम्बरको अन्तिममा चीनमा पहिचान गरिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलने क्रममा नेपालमा भने माघ ९ गते पहिलो संक्रमित पहिचान भएका थिए । त्यसयता संक्रमण फैलने आशंकामा स्वास्थ्य सावधानीका उपाय अबलम्बन गर्न थालिएको थियो । सरकारले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै निकै प्रचारप्रसारसमेत गरेको थियो । त्यसको केही हदसम्म पालना पनि भयो । माघ ९ गतेपछि नेपालमा दोस्रो कोरोना संक्रमितको पहिचान चैत १० गते मात्र भयो । चैत ११ गतेदेखि त सरकारले मुलुकभर नै लकडाउन नै ग¥यो । लकडाउन गर्नुको मुख्य उद्देश्य थियो– विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना संक्रमणले नेपाललाई जोखिममा पार्ने भएकाले विपद्को पूर्वतयारी गर्नु ।

लकडाउन त भयो, तर सरकारले सोचे जस्तो पूर्वतयारी गर्न सकेन । छिमेकी मुलुक भारतमा संक्रमण तीव्र गतिमा फैलिँदै गएको थियो । भारतबाट संक्रमण वा संक्रमित व्यक्ति आउन नदिने नीति अबलम्बन गर्न सम्पूर्ण सीमा नाका शील गरियो । तर खुला सीमा नाकाका कारण लुकिछिपी कयौं व्यक्ति नेपाल प्रवेश गरे । सीमावर्ती जिल्लामा जोखिम बढ्दै गयो । पर्सा, बारा, बाँकेलगायतका जिल्लामा संक्रमण उच्च गतिमा वृद्धि हुँदै गयो । संक्रमण विस्तारै अन्य जिल्लामा पनि पुग्न थाल्यो । त्यति बेलासम्म संघीय राजधानी काठमाडौं भने संक्रमणबाट उच्च जोखिममा रहेको थिएन । लकडाउनको समयलाई सदुपयोग गर्दै संक्रमण नियन्त्रण, रोकथाम र उपचारको व्यवस्थालाई प्रभावकारी बनाउने काममा सरकार केही हदसम्म चुक्दै गयो । तर यसो भन्दैमा सरकार चुप लागेर बसेको भने थिएन । संक्रमण पहिचान गर्न प्रयोगशाला विस्तार, क्वारेन्टाइन स्थलको व्यवस्थापन र आइसोलेसन केन्द्र निर्माण केही हदसम्म भयो । जब साउन ६ गतेदेखि लकडाउन पूर्णरुपमा अन्त्य भएको घोषणा गरियो, त्यसपछि भने संक्रमणको जोखिम उच्च हुँदै गयो । संक्रमणको जोखिम तीव्र हुँदै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा तीन सातासम्म निषेधाज्ञा जारी गरियो । कतिपय बाहिरी जिल्लामा पनि निषेधाज्ञा जारी गरियो । यो निषेधाज्ञा जारी गर्नुको कारण थियो– संक्रमितको उपचारको व्यवस्थालाई प्रभावकारी बनाउने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउनु ।

लामो समयसम्मको लकडाउनले अस्तव्यस्त भएको जनजीवन केही सहज हुने अपेक्षा गरिएका बेला गरिएको निषेधाज्ञाको पालना पूर्णरुपमा हुन सकेन । संक्रमण ७७ वटै जिल्लामा पुगिसकेको थियो । पछिल्ला दिनमा केही जिल्ला कोरोना संक्रमण मुक्त भए पनि त्यहाँका बासिन्दामा त्रास भने कायमै छ । किनकी अहिले जुनसुकै जिल्लामा पनि सहजै जान पाइने छ । एक जिल्लाबाट अर्को जिल्लामा जाँदा संक्रमण पनि सँगै पुग्ने भएकाले त्रास देखिएको हो ।

पछिल्ला दिनमा संक्रमणको ग्राफ दिनदिनै उच्च दरमा बढ्दै जाँदा सरकारी संयन्त्रहरुले धान्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । सरकारले सिकिस्त बिरामी नभई अस्पताल नआउन आह्वान गरेको छ । त्यसको एक मात्र कारण हो– अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण समुदायमा फैलिएको भनेर आधिकारिक पुष्टि नगरे पनि पछिल्ला दिनमा देखिएको संक्रमणको दर हेर्दा अब नेपालमा संक्रमण समुदायमै फैलिएको हुनसक्ने आशंका विज्ञहरुले गरेका छन् । संक्रमण बढ्दै जाँदा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

कोरोना संक्रमणबाट बच्न मास्कको सही तरिकाले प्रयोग गर्नुपर्छ । भौतिक दुरी कायम गर्न भुल्नु हुँदैन भने भीडभाड गर्नु हुँदैन । योसँगै पटकपटक साबुनपानीले हात धुनुपर्छ । यी कुरा विश्व स्वास्थ्य संगठन, सरकार, विभिन्न स्वास्थ्य संस्था, सरोकारवाला निकाय, संघसंस्थाहरुले भन्दै आएका छन् । तर यी कुराको पालना गर्नु त कता हो कता कतिपय ठाउँमा नारा–जुलुससमेत भए ।


नेपालमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै मृत्यु दरमा पनि वृद्धि भएको हो । दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी करिब ३२ प्रतिशत सक्रिय संक्रमित नेपालमा छन् । नेपालमा संक्रमितमध्ये ६८ प्रतिशत निको पनि भएका छन् । सक्रिय संक्रमितको संख्या कम नभएकाले मृत्यु हुनेको संख्या बढिरहेको छ । लक्षणसहितको संक्रमितहरु भेटिने क्रम बढ्दै जाँदा मृत्यु हुनेको संख्या पनि बढेको हो ।

नेपालमा हालसम्म सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिलाई संक्रमण देखिएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई पनि संक्रमण बढी देखिएको छ । यो उमेर समूहका व्यक्तिहरु कामका लागि बाहिर जाने भएकाले बढी संक्रमण देखिएको हो । त्यसैगरी घरबाहिरको काममा बढी सक्रिय हुने पुरुषमा तुलनात्मक रुपमा बढी संक्रमण देखिएको छ । पुरुषहरुले नै घरबाहिरबाट संक्रमण बोकेर आउने गरेकाले पछिल्ला दिनमा महिलाहरुमा पनि संक्रमण हुने क्रम बढेको छ ।

प्रदेशगत विश्लेषण गर्दा बागमती प्रदेशमा सबैभन्दा बढीको मृत्यु भएको छ । जनघनत्व बढी भएको ठाउँमा संक्रमण तीव्र गतिमा फैलिएकाले यो प्रदेशमा मृत्यु हुनेको संख्या बढेको हो । सुरुआती दिनमा भारतसँग सीमा जोडिएका जिल्लामा संक्रमण र मृत्यु दर बढी देखिएको थियो । देशभरि कोरोनाले ज्यान गुमाएकामध्ये सबैभन्दा बढी ४२ दशमलव ४५ प्रतिशत वागमती प्रदेशका छन् । २२ दशमलव ०१ प्रतिशत प्रदेश २, १४ दशमलव ९३ प्रतिशत लुम्बिनी, १२ दशमलव १० प्रतिशत प्रदेश १, ५ दशमलव ०३ प्रतिशत गण्डकी, २ दशमलव ३५ प्रतिशत सुदूरपश्चिम र १ दशमलव १ प्रतिशत कर्णालीका छन् । पछिल्ला दिनमा भने बागमती प्रदेशको पनि काठमाडौं उपत्यकामा संक्रमण र मृत्यु दर बढी देखिएको छ ।

हालसम्म मुलुकका २७ जिल्लामा संक्रमितको मृत्यु भएको छैन । प्रदेश २ मा संक्रमणले मृत्यु भएकाहरु आठ वटै जिल्लाका छन् । प्रदेश १ का इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु, वाग्मतीका रामेछाप र सिन्धुलीमा कसैको मृत्यु भएको छैन । यस्तै, गण्डकी प्रदेशका पर्वत, मनाङ, मुस्ताङ, लमजुङ, लुम्बिनी प्रदेशका रुकुम पूर्व र रोल्पा, कर्णालीका कालीकोट, जाजरकोट, जुम्ला, मुगु, रुकुम पश्चिम, सल्यान, हुम्ला र सुदूरपश्चिमका डडेलधुरा, डोटी, दार्चुला र बैतडीमा पनि कोरोनाबाट मृत्यु देखिएको छैन । पहाडि र जनघनत्व कम भएका जिल्लामा घर टाढाटाढा हुने र व्यक्तिको सम्पर्क पनि कम हुने भएकाले संक्रमण र मृत्यु दर कम देखिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौंसहितका घनावस्ती भएका शहरहरुमा संक्रमण किन उच्च गतिमा बढ्दै गएको छ त भन्ने प्रश्न पनि आउन सक्छ । लकडाउन र निषेधाज्ञा हटाइपछि आममानिसले स्वास्थ्य सावधानीका उपाय अबलम्बन गर्नबाट चुक्दै गएपछि समस्या आएको हो । सरकारले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मात्र घरबाहिर निस्कन आह्वान गरे पनि त्यसको पूर्ण पालना हुन सकेन । अझ नजिकिँदै गरेको दशैंको किनमेल गर्ने ठाउँहरु भीडभाडयुक्त बने । सरकारले भीड नियन्त्रण गर्न सकेन । मानिसहरुको आवतजावत तीव्र गतिमा भयो । उद्योग, व्यवसाय, कलकारखाना पूर्णरुपमा सञ्चालनमा आए पनि त्यहाँ पनि व्यक्ति स्वअनुशासनमा बस्नबाट चुके । स्वास्थ्य संकटका बेला जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने ठाउँमा चुक्दा संक्रमणको ग्राफ उकालो लागेको हो ।

कोरोना संक्रमणबाट बच्न मास्कको सही तरिकाले प्रयोग गर्नुपर्छ । भौतिक दुरी कायम गर्न भुल्नु हुँदैन भने भीडभाड गर्नु हुँदैन । योसँगै पटकपटक साबुनपानीले हात धुनुपर्छ । यी कुरा विश्व स्वास्थ्य संगठन, सरकार, विभिन्न स्वास्थ्य संस्था, सरोकारवाला निकाय, संघसंस्थाहरुले भन्दै आएका छन् । तर यी कुराको पालना गर्नु त कता हो कता कतिपय ठाउँमा नारा–जुलुससमेत भए । यसले पनि संक्रमण उच्च गतिमा फैलाउन सहयोग पुगेको हो ।

संक्रमणको दर यसरी बढ्दै गएको छ कि अब तत्काल नियन्त्रण गर्नै हम्मेहम्मे पर्ने छ । किनकी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुनै सकेको छैन । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना भए वा गरे एक महिनामा संक्रमण नियन्त्रण हुन सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । तर त्यसको पालनामा उदासिनता कायमै छ । मानिसहरु मास्क लगाएर हिँडेको त देखिन्छ, तर मास्कको सही प्रयोग उनीहरुले गरेको पाइँदैन । कोही मुखमात्र छोपेर लगाउँछन् त कोही नाकमात्र छोप्ने गरी लगाउँछन् । कसैले घाँटीमा भिर्ने गरेका छन् । भौतिक दुरी कायम गर्नुपर्ने नियम पनि पालना भएको पाइँदैन । भीडभाडको त झन् कुरै नगरौं । जताततै भीडभाड नै भीडभाड छ । बजारमा पुग्यो उस्तै छ । सेवाप्रदायक संस्थामा पुग्यो उस्तै छ । न हात धुने नियमको पालना भएको छ न त सेनिटाइजरको प्रयोग नै गरेको पाइन्छ । सार्वजनिक यातायातमा हेर्दा पनि हालत उस्तै देखिन्छ । आजै काम सक्ने हतारो सबैलाई छ । संक्रमणको डर भए पनि आफूलाई केही हुँदैन भन्ने भावनाको विकास हुँदै गएको देखिन्छ । यसले जोखिमलाई कम गर्न भन्दा बढाउन सहयोग पुगेको छ ।

नेपालमा कोरोनाको संक्रमण एउटा विन्दूमा पुगेर रोकिने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म संक्रमणले उच्च विन्दू नै कायम नगरेको विज्ञहरु बताउँछन् । अझ अब चिसो मौसम सुरु भएको छ । यसले संक्रमण झन् बढ्ने आशंका विज्ञहरुकै छ ।

विश्वका विकसित र सम्पन्न मुलुकहरुलाई पनि कोरोना संक्रमण नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । नेपाल जस्तो भर्खरै विकासको गति लिन थालेको र स्वास्थ्य पूर्वाधार मजबुद नभएको मुलुकमा संक्रमण तीव्र गतिमा फैलिएको अवस्थामा अब यसलाई नियन्त्रण गर्न निश्चय पनि कठिन नै हुने छ । कोरोना भाइरसविरुद्धको खोप औषधिसमेत पत्ता लाग्न नसकेको यो अवस्थामा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुको विकल्प देखिँदैन ।