नयाँ बानेश्वरमाः भित्र तनाव, बाहिर संविधान उत्सव


?????????????????????????????????????रङ्गीचङ्गी झण्डा तथा आफ्ना मागसहितका व्यानर हात–हातमा लिएर विहिवार सबै जना बानेश्वरतिरै लागिरहेका थिए । मानौँ त्यहाँ कुनै ठूलो उत्सव भइरहेको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ता, आदिवासी जनजाति, दलित, महिला, सत्तापक्ष÷विपक्ष दलका सबैले आ–आफ्नै तरिकाले भन्दै थिए ‘निर्धारित मितिमै संविधान जारी गर, महिलामैत्री संविधान जारी गर, पहिचानसहितको संविधान जारी गर, अलोकतान्त्रिक गतिविधि अन्त्य गर, जनतासँग गरेका वाँचा पूरा गर,’ । यस्तै–यस्तै नारा ठूल–ठूलो स्वरले बानेश्वरमा गुञ्जयमान भइरहेका थिए । सबैको एउटै माग थियो, ‘संविधान जारी गर’ । झट्ट हेर्दा यही कुरा सबैले भनिरहेका छन् तर आपसमा मित्रता देखिँदैन् । सत्तापक्ष÷विपक्ष, जनजाति, महिला, दलित छुट्टाछुट्टै बसेर संविधानको माग गरिरहेका देखिन्थे । राजनीतिक दलहरूले मुलुकका हरेक क्षेत्रमा गर्ने भागबण्डाको प्रवृत्ति आज आन्दोलनकारीले पनि आ–आफ्ना मागका लागि आयोजना गरेको सडक प्रदर्शनमा पनि अनुशरण गरेका छन् । दलहरूले संविधान निर्माणका लागि बचनबद्धता गरेको निर्धारित समय आज माघ ८ गते संविधान नआएपछि विभिन्न दल तथा समूहले विरोधस्वरुप नयाँ बानेश्वर चोकदेखि बिजुलीबजार पुल नजिक सडकसम्म भागबण्डा गरेर आन्दोलन तथा जनप्रदर्शन गरेका थिए । बिजुलीबजार पुलनजिक मूल सडकमा संयुक्त महिला आन्दोलन समितिले विभिन्न मागसहित जुलुस प्रदर्शन गरेका छन् । त्यस्तै, सडकको एकातिर एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चालगायतले सहमतिका आधारमा संविधान निर्माण हुनुपर्ने माग गरिरहेका छन् भने अर्काेतिर नेपाल आदिवासी जनजाति महासङ्घले पहिचानसहितको सङ्घीयतासहितको संविधानका लागि नाराबाजी गरिरहेका थिए । आन्दोलनकारीको पङ्तिमा सोही स्थानमा दलित नागरिक समाजले पनि नयाँ बन्ने संविधानमा आफ्ना हकअधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै धर्ना जारी राखेको छ । सडकका एकै स्थानमा फरक फरक समूह र दलका आन्दोलन तथा प्रदर्शन मिलेर गरेको देखिन्छ भने उनीहरुका भाषण र नाराको हल्ला एकअर्कामा बाझिएर कोलाहलको वातावरण बनेको थियो । विचार र नारा फरक भएपनि सबै आन्दोलनकारी संविधान बनाउनुपर्छ भन्ने उद्देश्यमा भने एकमत देखिन्थे । संविधानमा आफ्ना माग र हकअधिकारको सुनिश्चितताको माग गरे पनि उनीहरू समय मै संविधान जारी हुनुपर्ने नारा लगाइरहेका थिए । सडक प्रदर्शनमा अग्रपङ्तिमा देखिएको एनेकपा माओवादी नेतृत्वको साना ३० दलीय मोर्चा र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सम्मिलित सडक प्रदर्शनमा सत्तापक्षविरुद्ध चर्का नारा र भाषण थिए भने अन्य प्रदर्शनमा भाषणका साथै नाँचगान गरेर रमाईलो गरिरहेका थिए । सधैँ व्यस्त रहने बानेश्वरको सडकमा प्रदर्शनकारी पलेटी मारेर बदाम खाँदै गफमा मस्त घाम तापिरहेका थिए भने सवारीसाधन नचलेका कारण आमनागरिक पैदलै यात्रा गर्न बाध्य थिए । प्रहरीकाअनुसार प्रदर्शन शान्तिपूर्ण भएपनि माइतिघर–नयाँ बानेश्वर सडकखण्ड पुरै अवरुद्ध भएका कारण त्यस क्षेत्रमा आवागमन हुने सवारीसाधनलाई प्रहरीले रोकेर फरक दिशामा पठाइरहेको छ । दलहरूले संविधान जारी गर्न वाचा गरेको आज एक वर्ष पूरा भएको दिनसम्म संविधान नआएपछि जनतामा आक्रोश बढेको छ भने सम्भावित झडप हुन सक्ने आशङ्कामा सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । संविधानसभा भवन नयाँ बानेश्वर वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेरा छ भने तिनकुने, माईतिघर, पुरानो बानेश्वरलगायत विभिन्न स्थानमा प्रहरीको बाक्लो उपस्थिति छ । दलहरूले संविधानसभा निर्वाचनमा एक वर्षभित्र संविधान जारी गर्न वाचा गरेको एक वर्ष पूरा भए पनि संविधान बन्नु त परै जाओस् संविधानसभा सुचारु समेत गर्ने वातावरण बनेको छैन । गत सोमबार सत्तापक्ष नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधान निर्माणको प्रक्रिया अघि बढाउन खोज्दा तनाबको वातावरण सिर्जना भएको थियो । संविधानसभाभित्रको तनाबको असर बाहिर सडकमा रहेका कार्यकर्तामा पनि परेको देखिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]