कम्निस्ट हुनुको दुःख

नेपाल सानो सानै छ । क्षेत्रफलले पनि, जनसंख्याले पनि र अर्थतन्त्रले पनि । पहिचानले पनि, नामले पनि र उद्यमले पनि । बौद्धिक सामथ्र्यले पनि, नैतिक शक्तिले पनि र आचरणले पनि । तर अचम्म छ, यो सानो–सानो नेपालमा कम्निस्ट कति हुन् ! यिनको संख्या सुन्दैमा त्यसैत्यसै रिङ्गटा लागेर आउँछ । शासन सत्तामा नेकपा छ । जस्तोतस्तो नेकपा होइन, कोष्ठबाहिर नेकपा, कोष्ठभित्र नेकपा । अर्थात् सिङ्गल संज्ञाले चित्त नबुझेर डबल नेकपा ! डबल नेकपामा मुलुकका लगभग दुई तिहाई सांसद छन् । डबलको स्रेस्ता भन्छ— यी जम्मै कम्निस्ट हुन् ! मन्त्रीहरुको त्यत्रो बगाल छ, ती जम्मै कम्निस्ट ! सानोतिनो मेलाजत्रो केन्द्रीय समिति छ । समितिका जम्मै मनुवा कम्निस्ट ! डबलको ढ्याके स्रेस्तामा लाखौँ सदस्य छन् । ती जम्मै कम्निस्ट ! सत्ताको भतेरको डाडु–पन्यु डबलका हातमा छ । र, मिठो–मसिनो भोजन ज्युनार गर्न लाम लाग्नेहरुको लर्काे यहाँदेखि दूर क्षितिजसम्म फैलिएको छ । लर्कोमा चोर छ, चैते छ, डाँका छ, बिचौलिया छ, ठेकदार छ, कामचोर छ, लम्पट छ र भतुवा पुँजीवादी छ । लामको लर्कोका यी जम्मै कम्निस्ट उन्मुख अर्थात् यी जम्मै भोलिका कम्निस्ट !

यो कति कष्टप्रद विरोधाभाष ! नेपालमा असंख्य कम्निस्ट छन्, र अपवाद बाहेक एउटै कम्निस्ट छैन । वास्तवमा यहाँ जे छैन, म त्यो हुँ भन्ने अजीवको अभिनय व्याप्त छ । यो अभिनयमा कर्ताको ठूलो दुःख निहित छ । झुटबाट निसृत दुःख, ढोङबाट निसृत दुःख र गुरु गोयबल्सको अनुकरणबाट निसृत दुःख । लोकद्वारा कुरिकुरी गरिनुको दुःख र गिज्याइनुको दुःख । अनलोचना गरिनुको दुःख र निन्दित हुनुको दुःख । सडकमा मुर्दावाद भइनुको दुःख र ‘चोर– देश छोड्’ भनिइनुको दुःख । ‘यतै खायो’ र ‘उतै बजायो’ भनी कुख्यात भइनुको दुःख । अहो, नेपालमा म कम्निस्ट हुँ भन्ने दोपाया कति, र तिनका दुःख कति ! कम्निस्ट स्वघोषित, निजका दुःख स्वनिर्मित ।

कम्निस्ट ठट्टा होइन । यो एक उदात्त आदर्शको संवाहक पात्र हो । एक दार्शनिक पात्र, एक राजनीतिक पात्र र एक सांस्कृतिक पात्र । यो पात्र शोषण र दोहनको प्रतिपक्षी हो । शासना र ताडनाको मारक हो । अन्याय र विभेदको बैरी हो । छुवाछूत र हेलाँहोचोको काल हो । र अभाव एवं अकाल मरणको निषेधक हो यो । लिखतका जीवन्त अक्षरहरुमा कम्निस्ट एक सुन्दर सपना हो । र हो ऊ त्यो सपना साकार पार्न यत्नशील तपस्वी । सामाजिक न्याय र समताको एक कल्पनाशील उपासक, एक सिर्जनशील अभियन्ता र एक व्यवहारनिष्ठ लडाका । हो, कम्निस्ट ठट्टा होइन !

ओलोचकहरु भन्लान्— समकालको कुरुप यथार्थमा गोचर हुने कम्निस्ट हुँ भन्ने जीव अजीवको छ । यो पाखण्ड, भूmट, लूट र सुखभोगको पर्वत बोकेर हिँडिरहेछ । तिम्रो सुन्दर बयानको सुन्दर कम्निस्ट खै कहाँ छ ? के कम्निस्ट नामक यो उदात्त आदर्श नित्य कपोल कल्पनाको रहस्यमय बासिन्दा हो ? उत्तर भन्छ— हो पनि र होइन पनि । वर्तमानको ढोँगी र भोगी यथार्थलाई हेर्दा ‘हो’ भन्न करै लाग्छ । तर ‘हो’ भन्ने यो लाचार स्वीकारोक्ति शाश्वत सत्य किमार्थ होइन । ती थुप्रै र जाज्वल्यमान् नहोलान्, तथापि प्रमाणका भ्रूणहरु हाम्रै इतिहासको भण्डारमा उपलव्ध छन् । कुरो यो धेरैअघि र धेरै परको होइन । कुरो यो हिजैको हो र हाम्रै आँगनको हो । हिजो हाम्रोमा हो–हो कि जस्तो कम्निस्ट अवश्य थियो । ऊ सादा जीवन र उच्च विचारको पैरवी गथ्र्यो । ऊ संघर्ष र त्यागको वाचा गथ्र्यो । ऊ संकटमा मेरो गर्धनमाथि, तिम्रो गर्धन तल भन्थ्यो । ऊ भान्सामा तिम्रो गाँस पहिले, मेरो गाँस पछि भन्थ्यो । ऊ गाउँ र देहात चहाथ्र्यो । भोका र नाङ्गा, विपन्न र पददलित, सुकुम्बासी र पेटीवासी नर र नारीलाई जगाउन, उठाउन, एक सूत्रमा उन्न र मानावोचित जीवनका लागि लड्न ऊ प्रेरित गथ्र्यो, प्रोत्साहित गथ्र्यो, प्रशिक्षित तुल्याउँथ्यो र न्याय–संग्राम उठाउँथ्यो । आदर्श विचारको बलले चुनाव जितेर चप्पल पड्काउँदै ऊ सिंहदरबार पसेको हिजैमात्र त हो !

आलोचक सोध्लान्— सिंहदरबार पसेको त्यो चप्पले कम्निस्ट अहिले कहाँ छ ? उत्तर किञ्चित् निराशाजनक छ— अहिले त्यो छैन । त्यो धूलाबाट सत्तामा उक्लेको के थियो, सनातनी शोषक सत्ताले त्यसलाई आफुजस्तै बनाउन खोजिहाल्यो । सत्ताले त्यसलाई लोभ्यायो, भ्रमित तुल्यायो, गलित तुल्यायो, मह चटायो, आदर्शच्यूत गरायो र त्यो पतीत भयो । त्यो पतीत अहिले कहाँ छ त ? उत्तर अप्रिय छ, र यो अप्रिय उत्तरको उच्चारण गर्नुृमा ठूलो जोखिम छ । त्यो अहिले नेकपा डबलमा छ ! त्यो नेकपा डबलको मूल प्रवाहमा छ, त्यो त्यसको प्रनिधित्वमा छ । पार्टीव्यापी फलकमा त्यो विस्तारित छ । पार्टीमा यत्रतत्र, सर्वत्र त्यो उपस्थित छ । आखिर त्यो प्रवाह, त्यो विस्तार, त्यो प्रतिनिधित्वको नाम नै त नेकपा डबल हो !

नेकपा डबलको प्रवक्ता रौद्र मुद्रामा सोध्ला— हामी जस्ता थियौँ, उस्तै छौँ । पहिले पनि असल कम्निस्ट, अहिले पनि असल कम्निस्ट । हामी सदावहार असल कम्निस्टमाथि पतनको यत्रो फत्तुर ? फत्तुरकारीसँग प्रमाण के छ ? प्रत्युत्तरमा दर्शन, राजनीति र संस्कृतिका ठूला कुरा म गर्दिनँ । भावनात्मक र अमुर्त कुरा पनि म गर्दिनँ । म व्यवहार र आचरणका ठोस कुरा गर्छु । म लोकका नाङ्गा आँखाले देखिने, सादा कानले सुनिने र लाटो बुद्धिले बुझिने कुरा गर्छु । प्रवक्ताका वचनको यो ‘असल कम्निस्ट’ अहिले जनता भेट्न बसमा वा पैदल गाउँ जाँदैन । यदाकदा लोकलाई दर्शन दिन हेलिकप्टरमा उसको सवारी हुन्छ । यो ‘असल कम्निस्ट’ अहिले भुइँ टेकेर पेटीमा वा गोरेटामा पाउकष्ट गर्दैन । अघि र पछि सुरक्षाकर्मीको लर्को, वायुमण्डमा साइरनको शान र सडकमािथ एकल कब्जा । राजातुल्य यो ‘असल कम्निस्ट’को अहिले यसरी सवारी चल्छ । ज्यान सुकुटी हुने गर्मी किन नहोस्, टाई कसेर सूट नलाई यो ‘असल कम्निस्ट’लाई अस्तित्वबोधै हुँदैन । यो ‘असल कम्निस्ट’ तल हेर्दैन, मािथ हेर्छ । तल के छ ? तल अभाव र भोकग्रस्त तन्नम जन छन् । तल रोगी र अशक्त दुःखी जन छन् । तल अभाव र अनिकाल छ । तल वेदना र काल छ । तल पसिना र आँसु छ । तल ठगी र वञ्चना छ । तल नरकको नजिक छ । माथि के छ ? माथि केमात्र छैन ? माथि बिचौलिया र ठेकदार छ, माथि दलाल र ठग छ, माथि चोर र चण्डाल छ । माथि कमिसन छ, माथि भ्रष्टाचार छ, माथि घुस छ, माथि सलामी छ । माथि धन छ, माथि धाक छ, माथि मोज छ, माथि मस्ती छ । तसर्थ माथि वैकुण्ठको नजिक छ । त्यसैले प्रवक्ताको यो ‘असल कम्निस्ट’ तल पनि जन र जीवन छ भन्ने यथार्थ बिर्सिएर माथि । मस्त छ ।

तर के लाग्छ, यो ‘असल कम्निस्ट’का आफ्नै दुःख छन् । केही भन्नु र कुरो फेर्नु यसको दुःख हो । ढाँट्नु र ढँटाइलाई ढाकछोप गर्न गोयबल्स पथमा प्रवृत्त हुनु यसको दुःख हो । भ्रष्टाचारी र लुटेरा एवं ठग र जनपीडकको जीवन जिउनु र म ‘असल कम्निस्ट’ हुँ भन्न नछाड्नु यसको दुःख हो । धर्मान्धता, नश्लीय अहंकार र राष्ट्रवादी संकीर्णताको ध्वजा बोकेर हिँड्नु र ‘मानिसको अन्तरराष्ट्रिय जाति हुनेछ’ भनी गाउन नछाड्नु यसको दुःख हो । सामाजिक सम्बन्ध, जीवन शैली र आचरणमा कम्निस्ट कहीँ कतै कत्ति केही बाँकी नरहनु, तैपनि आफ्नो कुरुप र कुटिल स्वार्थको रक्षार्थ म कम्निस्ट हुँ भन्न विवश हुनु यसको दुःख हो । कठैबरा सडित र पतीत, लोभी र पापी, दम्भी ढोँगी, द्रव्यपिचासी र विलासी यो ‘असल कम्निस्ट’ !

——————————————————————-

लेखक खगेन्द्र संग्रौलाको यो स्तम्भ नियमित रुपमा एमएनटीभीअनलाईमार्फत हामी प्रकाशित गर्नेछौं । यो सामग्री लिखित अनुमति नलिई अन्य कुनै अनलाईन, पत्रपत्रिकामा प्रकाशित प्रशारित गर्न पाइने छैन । यस्तो गरेको पाइएमा कानून बमोजिम कारवाही अघि बढाइनेछ ।