स्पेनका केही क्षेत्रमा पुनः लकडाउन

एजेन्सी । कोरोना भाइरसबाट प्रभावित भएको स्पेनीस सरकारले पुनः लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरसको सुरूवाती चरणमा अत्यन्तै प्रभावित भएर सामान्य अवस्थामा फर्किसेको भएता पनि राजधानी मड्रिड र वरीपरीका क्षेत्रहरूमा स्पेनले पुनः लकडाउनको घोषणा गरेको हो ।

स्पेनको नयाँ मोडलको लकडाउन अन्तर्गत आवश्यक काममा अनुमति लिएका बाहेक सो शहर छोडेर अन्यत्र जान पाउने छैनन् ।

स्पेनको सरकारले लकडाउन गरेता पनि मड्रिडको क्षेत्रीय सरकारले भने कानुनी रूपमा लकडाउन नभएको उल्लेख गरेको छ ।

स्पेनमा गत २ हप्तामा भेटिएका १ लाख ३३ हजारभन्दा बढी संक्रमितमध्ये ग्रेटर मड्रिड क्षेत्रका मात्रै करीब १ तिहाइ रहेका छन् ।

स्पेनमा अहिलेसम्म ७ लाख ६९ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३१ हजारभन्दा बढीको मृत्यु भएको छ । सेप्टेम्बर महिनाको अन्तिम दिनमात्रै स्पेनमा ११ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी सोही दिन १७७ जनाको मृत्यु समेत भएको छ ।