चीनमा बन्दी बनाइएकी अष्ट्रेलियन पत्रकारसँग भिडियो कन्फ्रेन्स गरिएको पुष्टि !

मेलबर्न, अष्ट्रेलिया ।

चीनमा बन्दी बनाइएकी अष्ट्रेलियन पत्रकार चेङ लीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क भएको संघीय सरकारले पुष्टि गरेको छ । चीनको राज्यसञ्चालित सीजीटीएनमा कार्यरत रहेकी उनलाई गत महिना पक्राउ गरिएको थियो । उनलाई चीनको राष्ट्रिय सुरक्षामा खलल पार्ने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।

अष्ट्रेलिया सरकारले चेङलाई कन्सुलर सेवा दिइएको स्वीकार गर्दै उनलाई बन्दी बनाइएकै ठाउँमा भिडियो कल मार्फत परिवारसँग कुरा गराइएको जनाएको छ । अष्ट्रेलियाको विदेश मन्त्रालय डिपार्टमेन्ट अफ फरेन एफेयर्स एण्ड ट्रेड डिएफएटी बन्दी बनाइएकी पत्रकारसँग कुरा भएको पुष्टि गरेपनि अन्य कुरा खुलाउन नमिल्ने एविसीलाई जनाएको छ ।

चीनका लागि अष्ट्रेलियन राजदूत पनि उक्त भिडियो कलमा सहभागी थिए । चीनमा राष्ट्रिय सुरक्षाको मामिलामा शंका लागेका व्यक्तिलाई कम्तिमा ६ महिनासम्म कुनैपनि कानूनी सुविधाविना नै थुन्न र छानविन, सोधपुछ गर्न पाउने अधिकार हुन्छ । मेलबर्नमा आफ्ना दुई छोरी र परिवारका साथ बसोबास गर्ने चेंगलाई पक्राउ गर्नुअघि दुई अष्ट्रेलियन पत्रकारहरुलाई देश निकाला गरिएको थियो । पछिल्लो समय अष्ट्रेलिया र चीनबीच तनाव बढ्दो छ । कोरोना भाईरसको उत्पत्तिका विषयलाई लिएर विश्वव्यापी मञ्चमा आरोप प्रत्यारोपको सिलसिलाले यी दुई देशबीचको सम्बन्धमा गहिरो असर पारेको छ ।