अवतार–२ को सुटिङ सकियो

एजेन्सी । सफल फिल्म निर्माता जेम्स क्यारूनले बहुप्रतिक्षीत फिल्म ‘अवतार–२’को सुटिङको काम सकिएको जानकारी दिएका छन् । क्यामरूनले अवतारको सिक्वेन्स अवतार–२ को सुटिङ सकिएसँगै टिम अवतार–३ को सुटिङ पनि सक्ने तयारीमा रहेको बताएका छन् ।

‘इन्टरटेन्मेन्ट टुनाइट’का अनुसार क्यारूनले अर्नोल्ड श्वार्जेनेगरसँगको जुम मिटिङमा फिल्मको अपडेट गर्दै सुटिङ सकिएको र अर्को सिक्वेन्सको काम पनि धेरै माथि पुगेको जानकारी दिएका हुन् ।

कोरोना भाइरसको महामारी सुरू भएको बेला अवतारको सुटिङ आधा सकिएको थियो । त्यतिबेला न्युजिल्याण्डमा यो फिल्मको सुटिङ भइरहेको क्यारूनले उल्लेख गरेका छन् ।

न्युजिल्याण्ड जुन महिनामा नै कोरोना भाइरस मुक्त देश घोषित भएको थियो । उक्त समयमा क्यारूनको टिमले सुटिङको काम सुरू गर्ने अनुमति पाएसँगै फिल्मको सुटिङ अगाडी बढेको थियो ।

क्यारूनले कोरोना भाइरसका कारण फिल्को सुटिङमा चार महिना ठूलो असर परेको पनि बताएका छन् । उनले अवतार–२ २०२२ को डिसेम्बरमा रिलिज गरिने उल्लेख गरेका छन् ।

२००९ मा बनेको अवतारले ठूलो सफलता पाएको थियो ।